काठमाडौं महानगर र ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान सञ्चालन

लोकपथ
52
Shares

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटल सँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो ।

ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘नो हर्न’ अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए । उनले ‘नो हर्न’ अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोनालगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताए ।

मेयर साहले सवारी साधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए । उनले सवारी चालकहरुले पनि धैर्यता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् । उनले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताइन् ।

काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा ‘नो हर्न’ अभियान सञ्चालन गरेको थियो । तर, कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?