सधै देश र जनताको हितमा काम गर्छु : मन्त्री कुँवर

लोकपथ
156
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री कुँवरले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भएपनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताएक हुन् ।

राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पुर्‍याउने आश्वासन समेत दिए । मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

उनले भने, ‘मैले पनि मन्त्रीपरिषद सदस्यको जिम्मेवारी पाएको छु । मैले आफ्नो मन्त्रालयमा कति बस्छौं, त्यो बेग्लै कुरा हो । जीवन त अस्थायी छ । पद, प्रतिष्ठान भनेको सधैं रहिँरहदैन । यो दुनियाँलाई थाहा भएको कुरा हो । तर हामी जति बस्छौं, जुन क्षेत्रमा हामीले काम गर्‍यो । त्यो क्षेत्रले उत्साह पाउने गरी हामीले काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । र, मैले खेल्नुपर्ने भूमिकाको लागि र यो मन्त्रालयबाट खेल्नुपर्ने भूमिकालाई अवश्य पनि मैले सकेपछि सहयोग अवश्य पनि रहने विश्वास म दिलाउन चाहन्छु । मैले आफ्नो तर्फबाट यो राष्ट्रका लागि, नेपाली जनताको लागि खेल्नुपर्ने भूमिका सक्दो सहयोग पुर्‍याउने विश्वास म यहाँहरुलाई दिलाउन चाहन्छु ।’

मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ–आफनो क्षेत्रबाट योगदान पुर्‍याउन जरुरी रहेको पनि बताए । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?