निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्छ : मन्त्री गहतराज

लोकपथ
117
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताएका छन् ।

मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिवी, अभाव र अनिकालका समस्याहरु समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिहरुले प्रयास गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय युवा परिषदले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरुलाई निराश नहुन पनि पटकपटक आग्रह गरे । पर्यटन र ठूला उद्योगधन्दा, कलकारखानाको स्थापना गरेर पनि मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न सकिने मन्त्री गहतराजको भनाई थियो ।

उनले भने, ‘अव संघ र प्रदेशको निर्वाचनको मिति तय भईसकेको छ । र, त्यसमा जाँदा नयाँ प्रतिवद्धतासहित नयाँ जनप्रतिनिधिहरु हाम्रो बीचमा आउनेछन । उनीहरुले साँच्चीकै यो देशका बेरोजगारीका समस्याहरु, गरिवीका समस्याहरु, अभाव र अनिकालका समस्याहरुलाई सही ढंगले व्यवस्थापन गर्ने आधार साझा ढंगले खोज्नुपर्ने अवस्था छ । र, यसलाई लिएर जान्छौं । विकसित देशहरु कसरी विकसित भन्दाखेरी जहाँ छोयो, त्यहाँ पैसा फल्ने वातावरण बनाएको छ । हाम्रो त प्रकृतिले नै त्यो अवसर दिएको छ । हामीले त्यसलाई प्रयोग गर्न नसकिरहेको मात्रै हो । पर्यटकीय हिसावले हे¥यौं भने । अर्कोतर्फ ठूला उद्योगधन्दा,कलकारखानालाई व्यवस्थित गर्न सके यहाँ बेरोजगारीको समस्या हुँदैन । त्यसैले युवाहरु निराश हुनुपर्दैन ।’

मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरुको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढने गरी सरकारले आवश्यक गुरु योजना तय गरेर अघि बढने आश्वासन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?