विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल चलिरहेको छ : प्रचण्ड

लोकपथ
130
Shares

जापान । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका छन् । जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभल, २०२२ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताएका हुन् ।

उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरु प्रयासरत रहेको बताए । नेपाल र जापान बीचको सम्बन्ध पुरानो रहेको भन्दै उनले एक सय २० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत जानकारी दिए ।

नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद समेत दिए । दातृ देशका रुपमा जापान नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल–जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्नो भ्रमण केन्द्रित रहने उनले विश्वास व्यक्त गरे । जापानी पूर्वप्रधानमन्त्री सिञ्जो आबेसँग आफ्नो विशेष सम्बन्ध र मित्रता रहेको अध्यक्ष दाहालले स्मरण गरे । आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि बलियो र स्थिर सरकार गठन हुने विश्वास व्यक्त गर्दै उनले विकास र समृद्धिको अभियान निरन्तर अगाडि बढ्ने बताए । पाँचदिने जापान भ्रमणका क्रममा अध्यक्ष दाहाल आज त्यहाँ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?