पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपर्‍यो : बाबुराम भट्टराई

लोकपथ
104
Shares

काठमाडौं । नवगठित नेपाल समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय-क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताएका छन् ।

नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय-क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको बैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताएका हुन् ।

ललितपुरको बालकुमारीमा शनिबार (आज) सुरु भएको पार्टी केन्द्रिय समितिको प्रथम बैठकमा बोल्दै उनले पार्टीको बैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘जसपाले संर्कीण एउटा क्षेत्रगत, जातिगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले संघर्षहरु गर्‍यौं, बहसहरु गर्‍यौं । जब त्यो परिणाममा देखा पर्न सकेन । हामी त्यहीँ पार्टीलाई रुपान्तरण गरेर अघि बढन सक्ने अवस्था देखिएन । त्यसपछि हामीले गत असार २८ र २९ गते केन्द्रिय समितिको बिस्तारित बैठक आयोजना गरेर रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने हामीले अन्तिम प्रयत्न गर्‍यौं । तर जो मानिसहरु उही पुरानै बाटोमा हिँडन अभ्यस्त थिए । उनीहरुले रुपान्तरणको कुनै संकेत देखाएनन् । उल्टै पार्टीलाई एउटा नयाँ ढंगले विघटनको दिशातिर, विर्सजनको दिशातिर लिएर जाने जुन प्रयत्न गरे । त्यसबाट यो पार्टी रुपान्तरण हुन सम्भव छैन, यसलाई पुनर्गठननै गर्नुपर्छ भन्ने निष्कर्ष निकालेर जनता समाजवादी पार्टी संकीर्ण जातीय, क्षेत्रीय बाटोमा पतन हुने देखियो । त्यसले अव देशको बैकल्पिक राजनीतिको कार्यभार पुरा गर्न सक्दैन । त्यसैले अव हामी फेरी नयाँ ढंगले पुनर्गठन गरेर जानुपर्छ भन्ने मान्यताका साथ हामीले जनता समाजवादी पार्टी निर्माण गरेर हामी अघि बढेका छौं । वैधानिक ढंगले यसले पूर्णता प्राप्त गर्न अझै बाँकि छ । यो केन्द्रिय समितिको हाम्रो मुख्य मक्सद भनेको पुनर्गठित यो पार्टीको बैधानिकतालाई पूरा गर्ने र त्यसपछि विभिन्न पक्षहरुसँग राष्ट्रिय-अन्तराष्ट्रिय परिस्थितिको समेत आँकलन गर्दै आगामी दिनको कार्यभार तय गर्ने यो नै हाम्रो यो बैठकको मूल एजेण्डा हो । त्यसो हुनाले म सम्पूर्ण साथीहरुलाई पत्रकार मित्रहरुलाई मेरो चाँही आग्रह छ–हामी एउटा नयाँ इतिहास रच्ने हिम्मत र आँट सुरु गरेको छौं । नयाँ काम जहिले पनि अप्ठ्यारो हुन्छ । तर अप्ठ्याराहरुसँग जुधेर मात्रै रुपान्तरणकारी कामहरु गर्न सकिन्छ सजिलो बाटो त जो पनि हिँडछ । समस्याहरुको समाधानका निम्ति असजिलो बाटो हिँडने हिम्मत र साहस गर्नुपर्छ । हामीेले त्यो हिम्मत र साहस गरेका छौं । त्यो धेरै कठिन देखिन सक्छ । तर हामीसँग जुन बैकल्पिक विचार छ । संगठनात्मक ढाँचा र शैलीको जुन हाम्रो जोड छ । संगठन र नेतृत्वको नयाँ प्रणालीको सोच जुन हामीले बनाएका छौं । र, देशको स्थितिको मूल्यांकन गरेर आगामी कार्यभार हामी तय गर्दैछौं । यसले देशलाई एउटा बैकल्पिक बाटो देखाउँछ भन्ने हामीलाई विश्वास छ ।’

नेता भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताए । जनताका मुद्धाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भिर छलफल गरी पार्टीको कन्द्रिय समिति बैठकले आवश्यक निर्णय लिने बताए ।

नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको बैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?