लोकपथ टप फिप्टिन हेडलाइन्स : सांसदकाे भागबण्डामा गठबन्धनदेखि काेराेनाकाे बढ्दाे ग्राफसम्म

लोकपथ
39
Shares

१  पाँच दलीय सत्ता गठबन्धनबीच प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमति, निर्वाचनका लागि सीट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन, भदौ पहिलो हप्तासम्म सिट बाँडफाँटको टुंगो लाग्ने ।

२  २०७४ सालमा सम्पन्न निर्वाचनलाई लक्षित गरी खरिद गरिएका २२ करोडको प्रिन्टर र ५८१ थान ल्यापटप प्रयोगविहीन, प्रयोग नै नहुने वस्तु किनेर निर्वाचन आयोगले राज्यको खर्च बढाएको महालेखापरीक्षकको कार्यालयको ठहर ।

३  पाँचदलीय गठबन्धनका नेताहरूसँग व्यक्तिगत स्वार्थबाहेक कुनै गन्तव्य नरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष, गठबन्धनले पाँच वर्ष सरकार चलाउने हो भने देश ध्वस्त हुने आरोप ।

४  पाँच दिने भ्रमणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गर्दै, भ्रमणका क्रममा जापानस्थित प्रवासी नेपालीहरुसँग अन्तरक्रिया गर्ने, राजनीतिक भेटघाट बारे टुंगो लाग्न बाँकी ।

५  पछिल्लो २४ घन्टामा गरिएको ६ हजार ४९१ परीक्षणमा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामै थपिए ३९० जना संक्रमित, एकको मृत्यु ।

६  देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा ऊर्जामन्त्री पम्फा भुसालको जोड, निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्नेतर्फ सोच्नुपर्ने भनाइ ।

७  सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको नेकपा एमालेका नेता डा.भीम रावलको जिकिर, सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त, नीति र घोषणापत्रका आधारमा मत माग्नुपर्ने भनाइ ।

८  गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी ९७ दशमलव ७५ प्रतिशत अंकसहित सर्वोत्कृष्ट, अर्घाखाँची र नवलपरासीपूर्व क्रमशः दोस्रो र तेस्रोमा, ४६ जिल्लाले पाए ९० प्रतिशत अंक ।

९  सरकारसँग भएको ५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कुमारी आमाको रुपमा परिचय पाएकी निहारिका फेरि आमरण अनसनमा, बच्चासहित आमरण अनसनमा बसेकी उनी अनशनस्थलबाटै प्रहरी नियन्त्रणमा ।

१०  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनायताकै न्यून बिन्दुमा, इन्धनको मूल्य घट्दा नेपाल आयल निगमको घाटामा पनि उल्लेख्य सुधार ।

११  साताको अन्तिम कारोबार दिन शुक्रवार सेयर बजारमा ३४.८५ अंकको गिरावट, दुई घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्बभन्दा बढीको सेयर किनबेच ।

१२  थाइल्याण्डको चोनबुरी प्रान्तमा रहेको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु, ४१ जना घाइते, पीडितका परिवारलाई तत्काल राहत उपलब्ध गराइने थाई प्रधानमन्त्रीको प्रतिबद्धता ।

१३  चीनले प्रहार गरेका क्षेप्यास्त्र मध्ये पाँचवटा आफ्नो विशेष आर्थिक क्षेत्रमा लागेको भन्दै जापानले जनायो कडा आपत्ति, यस्तै अहिलेसम्म ११ वटा क्षेप्यास्त्र आफ्नो भूमि वरपर प्रहार भएको ताइवान सरकारको पुष्टि ।

१४  महिला फिफा वरीयतामा खस्कियो नेपालको स्तर, १०१ औं स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै १०२ औं स्थानमा, अमेरिका शीर्ष स्थानमा रहँदा जर्मनी दोस्रो र स्विडेन तेस्रो स्थानमा ।

१५  इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आज रातिबाट सुरु हुँदै, सिजनको पहिलो खेलमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?