राष्ट्रिय वाणिज्य बैंकले कमायो ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा

लोकपथ
182
Shares

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित गरेको छ ।

बैंकले यस अवधिमा ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो । आ.व. २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ६७ करोड (गत वर्ष आठ अर्ब २४ करोड), कुल संचालन आम्दानी ११ अर्ब २७ करोड (गत वर्ष ९ अर्ब ७६ करोड), संचालन नाफा सात अर्ब एक करोड (गत वर्ष पाँच अर्ब नौं करोड), कुल समग्र आम्दानी तीन अर्ब आठ करोड (गत वर्ष छ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा रु. ३ अर्ब ३ करोड रहेको छ ।

२०७९ असार मसान्तमा बैंकको ग्राहक निक्षेप दुई खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट दुई खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा एक दशमलव ८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७८/७९ मा बैंकको शेयरधनी कोष चार अर्ब ८१ करोडले वृद्धि भई ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति १९ अर्ब रुपैयाँले वृद्धि भई तीन खर्ब २९ अर्ब पुगेको छ ।

२०७९ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १३ दशमलव ९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५ दशमलव ८९ प्रतिशत, आधार दर सात दशमलव ६३ प्रतिशत, ब्याजदर अन्तर चार दशमलव २९ प्रतिशत, कोषको लागत दर छ दशमलव शुन्य एक प्रतिशत तथा प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९० पैसा रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको छ ।

आ.व.२०७८/७९ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?