लमजुङ कांग्रेसको चुनावी समीक्षा, नेतृत्वको आलोचना

लोकपथ
52
Shares

लमजुङ । नेपाली कांग्रेस लमजुङले करिब दुई महिनापछि स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरेको छ । समीक्षात्मक बैठकमा सहभागी अधिकांश महिला नेतृहरूले गठबन्धनको बहानामा नेपाली कंग्रेसले महिलालाई नेतृत्वमा ल्याउन नचाहेको र तेस्रो दर्जाको नागरिकको रूपमा लिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

संविधानले प्रदत्त गरेको मुख्य २ प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थालाई छल्दै गठबन्धनको बाहनामा जिल्लाभर महिलालाई कुनैपनि सिटमा उम्मेदवार नबनाएको भन्दै उनीहरुले रोष प्रकट गरेका थिए ।

बैठकमा प्रदेश सभापतिहरुले जिल्लाले स्थानीय निर्वाचनका सन्दर्भमा प्रदेश समितिसँग कुनै सहकार्य नगरेको, सहकार्य नगरेको कुनै पनि बैठकमा सहभागि नगराइएको र प्रतिशत कार्यसमितिको अधिकार क्षेत्रलाई जिल्लाले हस्तक्षेप गरी भूमिकाविहीन बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रदेश सभा ‘क’ का सभापति दर्जङ गुरुङले जिल्लाको नेतृत्वले सही व्यवस्थापन गर्न नसक्दा स्थानीय तह निर्वाचनमा सोचेजस्तो परीणाम ल्याउन नसकेको बताएका थिए । उनले प्रदेश समितिको कार्यक्षेत्रलाई जिल्ला नेतृत्वले हस्ताक्षर गरी भूमिकाविहीन बनाएको भन्दै प्रदेश समिति खारेज गर्न चुनौतीसमेत दिए ।

प्रदेशसभा विभागका सभापति रघुनाथ गुरुङको पनि उस्तै आक्रोश थियो । उनले त घुमाउरो पाराले स्थानी तह निर्वाचनको मतपरिणाम अस्वाभाविक र लज्जास्पद भएको भन्दै जिल्ला नेतृत्वको राजीनामा समेत माग गरेका थिए । बैठकमा बोल्ने अधिकांश नगर सभापतिहरूको समेत जिल्ला नेतृत्वप्रति असहमति र आक्रोश प्रष्टसँग देखिन्थ्यो । उनीहरुले वडा अध्यक्ष र सदस्यहरूको टिकट वितरणमा नगरका सभापतिहरूलाई पुरै बेवास्ता गरेका कारण सही उम्मेदवार छनौट गर्न नसकिएको र त्यसले निर्वाचनमा अपेक्षित उपलब्धि हात लाग्न नसकेको बताएका थिए ।

नेपाली कांग्रेस लमजुङका कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा सल्लाहकारहरु सबैलाई अनिवार्य आमन्त्रण गरिएको कार्यक्रममा जिल्लाका केही स्थापित नेतृत्व भने उपस्थित देखिएनन् ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती पूर्व सभापतिहरु रामचन्द्र अधिकारी चन्द्रबहादुर कुँवर तुलसी नारायण श्रेष्ठ तथा पूर्व सांसद तथा मन्त्री रामबहादुर गुरूङ, नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका सहमहामन्त्री रमेश कुमार पाण्डे लगायतका नेता सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?