समानान्तर कमिटी नचलाउन अखिल क्रान्तिकारीलाई प्रचण्डको निर्देशन

लोकपथ
70
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अखिल क्रान्तिकारीका विद्रोहीपक्षलाई बोलाएर समानान्तर कमिटी चल्न नसक्ने बताएका छन् । अखिल क्रान्तिकारी अध्यक्ष पंञ्चा सिंह नै आधिकारिक लाइन भएकाले आफ्नो जिम्मेवारीमा फर्किएर काम गर्न पवन कार्कीपक्षलाई आग्रह गरेका हुन् ।

गत बुधबार प्रचण्डले सिंह र कार्कीपक्ष दुबैपक्षलाई खुमलटार बोलाएर छलफल गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले बताए । ‘अखिल क्रान्तिकारीमा समान्नतर कमिटी चल्दैन । एउटै कमिटी हुन्छ’ प्रचण्डको भनाई उदृढ गर्दै रावलले भने, ‘तपाई (पवन कार्की) मेरो लाइनमा हुनुहुन्छ भने समान्नातर कमिटी बन्द गर्नुस् यसअघि तपाईहरुको जहाँ तत जिम्मेवारी दिएको छ त्यसमा फर्किएर काम गर्नुस् भन्नु भएको छ । अखिल क्रान्तिकारी अध्यक्ष सिंहलाई कार्कीपक्षको कारबाही फिर्ता लिएर संगठनमा काम गर्ने वातावरण बनाउन निर्देशन दिनु भएको छ ।’

अखिल क्रान्तिकारीमा विवाद ल्याउनेगरी समानान्तर कमिटी नचलाउन प्रचण्डले कडाइका साथ निर्देशन दिएको रावलले बताए । विद्यार्थी संगठनमा यो वा त्यो नाममा विवाद नझिक्न प्रचण्डले आग्रह गरेका छन् । अब छिट्टै प्रदेश र संघको चुनाव आउँन लागेकाले विद्यार्थी संगठन एक ढिक्का भएर चुनाव प्रचारमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

खुमलटार छलफलमा प्रचण्ड सहित इन्चार्ज हितमान शाक्य, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह विद्राह गरेका पवन कार्की विद्यार्थी विवाद समाधान कार्यदलका संयोजक रमेश मल्ल सहित सदस्यहरुको समेत सहभागिता थियो । विद्यार्थी संगठनमा विवाद भएपछि मल्लको नेतृत्वमा पूर्व अध्यक्ष रत्न ढकाल र नरेन्द्र न्यौपानेको सदस्य रहनेगरी स्थायी समिति बैठकले कार्यदल बनाएको थियो ।

कार्यदलले समेत अध्ययन गरेर प्रतिवेदन समेत बुझाई सकेको छ । कार्यदलले समेत अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चल्न नसक्ने सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?