सदस्यता वितरणमा कडाई गर्न महासंघलाई प्रेस काउन्सिलको आग्रह

लोकपथ
65
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने बताए ।

कुनै दलको केन्द्रीय कमिटीमा रहेकाहरुलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेश गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघलगायतका सम्वद्ध निकायहरु सचेत हुनुपर्ने बताए । उनले नेपाल पत्रकार महासंघको सदस्यता लिने तर, सक्रिय पत्रकारिता नगर्नेहरुको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएको बताए ।

अध्यक्ष बस्नेतले भने, ‘पहिला आफू पत्रकार होकि होईन, एकीन हुनुपर्छ । पत्रकार भएर गरिएको काममा नियमन गर्न कुनै समस्या छैन । तर, पत्रकारको आवरणमा गैर पत्रकारबाट हुने काममा भने सचेत हुनुपर्छ ।’ पत्रकारको आवरणमा, मिडियाको आवरणमा भेष्टेड इन्ट्रेष्ट राखेर गरिने कामहरुले समस्या ल्याएको बताउँदै उनले सदस्यता दिने प्रावधान खुकुलो गर्न नहुने बताए ।

उनले प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघलगायत सम्वद्ध निकायहरुले यस्ता विषयमा ध्यान दिन जरुरी भएको बताए । अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरु आफू सचेत भएमात्रै अरुमाथि प्रश्न उठाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?