विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन स्थापना गर्दै प्राधिकरण

 – रमेश लम्सालकाठमाडौँ, ३० असोज।नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ ।आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा जानै पर्ने भएकाले त्यसको प्रक्रिया शुरु गर्न लागेको हो ।विद्युतीय सवारी साधनलाई बढावा दिनका लागि प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा नै चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । पेट्रोल पम्प जस्तै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रिया शुरु गर्न लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विद्युत् खेर जाने अवस्था आउनसक्ने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।हाल माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण करिब ९१ प्रतिशत सम्पन्न भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्राधिकरणले राजधानीमा चल्ने साना सवारी साधन समेत विद्युतीय नै प्रयोग गर्ने कि भन्ने बारेमा छलफल गरिरहेको छ ।गत वर्षदेखि विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलोचरणका काठमाडौँका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन खडा गर्नेछ । काठमाडौँपछि पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेशन जडान गरिनेछ ।पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिएको खण्डमा विप्रेषणबाट प्राप्त हुने रकम स्वदेशमा नै रहनसक्छ ।‘आगामी दिनमा जसरी भए पनि विद्युतीय सवारीमा जानै पर्छ । नागरिकलाई सचेतता अपनाउन पनि प्राधिकरणले चार्जिङ स्टेशन स्थापना गर्न लागेको हो ’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउछन ।तर विद्युतीय सवारीको अवस्थामा भने नेपालको राम्रो रेकर्ड छैन । चल्दा चल्दैको ट्रली बसको कुनै संरचना पनि काठमाडौँमा छैन । जेनतेन सफा टेम्पो राजधानीमा चलिरहेको छ । केही समय अघि सम्पन्न नाडा अटो सोमा समेत विद्युतीय सवारीको प्रदर्शनी गरिएको थियो । नागरिक क्रमशः विद्युतीय सवारीतर्फ आकर्षित हुन थालेका छन् ।बेलायत, फ्रान्स, नर्वे, भारतलगायतका मुलुकले सन् २०३० सम्म विद्युतीय सवारी साधन प्रयोग गर्ने रणनीति अख्तियार गरेको छ । अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, जापान, दक्षिण कोरिया, नेदरल्याण्ड, पोर्चुगल तथा स्पेनले पनि विद्युतीय सवारी साधनको बिक्री तथा प्रयोगमा विशेष ध्यान दिने लक्ष्य राखेका छन् ।अन्तर्राष्ट्रिय ऊर्जा संघको प्रतिवेदनअनुसार विश्वको ९५ प्रतिशत विद्युतीय कार चीन, अमेरिका, जापान, क्यानडा, नर्वे, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड र स्वीडेनमा बिक्री वितरण हुने गरेको छ ।काठमाडौँ महानगरपालिकाले काठमाडौँमा चिनियाँ विद्युतीय बस चलाउने योजना अगाडि सारे पनि त्यसको कुनै प्रक्रिया नै शुरु हुनसकेको छैन । महानगरले रु पाँच करोड रकम विद्युतीय बसका लागि छुट्ट्याइएको थियो । तर प्रक्रिया शुरु नहुँदा कुनै ठोस् प्रगति हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?