सप्तकोसी प्रभावितको राहत र उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

लोकपथ
78
Shares

काठमाडौं । सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा कटानले बस्ती नै विस्थापित हुने अवस्थामा पुगेपछि गृहमन्त्री बालकृष्ण खाणले प्रभावित नागरिकको व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन् । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री नारायण खड्कासँग समेत छलफल गरेका छन् । त्यस्तै, गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव लगागायत सम्बद्ध प्रहरी प्रमुुख तथा अधिकारीलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

मन्त्री खाणले प्रभावित नागरिकलाई उद्धार र तत्काल आवश्यक पर्ने राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिएका छन् । विपदमा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएइका छन् ।

कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ । कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?