सप्तकोसीमा पानीको बहाब उच्च, बाढी बस्तीमा पस्यो

लोकपथ
117
Shares

उदयपुर । केहि दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले सप्तकोसीमा पानी सतह अत्याधिक मात्रामा बढ्दा त्यसको असर आसपासका क्षेत्रमा देखिन थालेको छ ।

उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ ।

बुधबार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् ।

तीव्र रुपमा बाँध कटान गर्दै कोसी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीसहित संयुक्त रुपमा प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्ने कार्यमा खटिएका छन् ।

७० मिटरभन्दा बढी बाँध कटान गरेर कोसी बस्ती पसेको छ । नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

बेलका नगरपालिका– ८ लाहेर खोच डुम्रिबोटेस्थित नदिले कटान गरि गाउँ पसेको हो । नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् ।

कोसी सम्झौता अनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयबासी बताउँँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको स्थानीयहरुको गुनासो छ ।

सप्तकोसीले धार परिर्वतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् । उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा सप्तकोशी नदी फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?