पानीको सतह बढेपछि गण्डक बाँधका सबै ढोका खोलियो

लोकपथ
117
Shares

रुपन्देही । दुई दिनदेखिको निरन्तर वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको छ । नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका (फाटक) खोलिएको हो ।

देवघाटस्थित जल मापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र)मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको छ । पानीको सतह बढेर खतरा बढ्न थालेपछि ढोका खोलिएका छन् । ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्छन् ।

नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ । गण्डक बाँधको क्षमता प्रतिसेकेन्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने रहे पनि पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न सक्दैन ।

बाँधमा ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिने गरेकोमा मङ्गलबार २ लाख ९७ हजार प्रतिसेकेण्डको बेगले पानी बगेको बताइएको छ । पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?