नेविसंघलाई विविसंघ बनाउनुस् : सांसद सुनुवार

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को नाम परिवर्तन गरी (वि.वि.संघ) राख्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न आग्रह गरे । उनले नेविसंघकै कारण अहिले त्रिभुवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताए । उनले तालाबन्दी गर्ने मानिसहरु कुनै विद्यार्थी संगठनहरु नभइ नेविसंघको पहलमा बाहिरबाट भइरहेको आएको आरोप लगाए ।

सांसद सुनुवारले साउन १३ गतेबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्रका रुपमा पुर्‍याइएको बताए । उनले भने, ‘यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी संगठनबाट भएको छैन । त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी यस्तो अवस्थामा भएको छ, प्राध्यापक र सहप्राध्यापकको र कर्मचारीहरुको मौखिक परीक्षा लिने बेलामा साउन १३ गतेबाट फेरि त्रिभुवन विश्वविद्यालय अस्तव्यस्तको दिशामा अघि बढेको छ ।

यो तालाबन्दी सत्तारुढ पार्टीको त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट भएको छ । नेपाल विद्यार्थी संघको नाम अब परिवर्तन गरेर वि.वि.संघ अर्थात् विश्वविद्यालय बिगार्ने संघ राख्न म प्रस्ताव गर्न चाहन्छु ।’

उनले १८ देखि २५ वर्षका युवा उमेरका विद्यार्थी हुनुपर्नेमा विश्वविद्यालयमा ४० कटेका पाका विद्यार्थीहरु थुपारेर विश्वविद्यालय अस्तव्यस्त बनाइएका आरोप लगाए । सांसद सुनुवारले विश्व विद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?