मालपोत लमजुङले उठायो एक बर्षमा १० करोड राजश्व

लोकपथ
195
Shares

लमजुङ । मालपोत कार्यालय लमजुङले आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँँ बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजश्व संकलन गरेको मालपोत कार्यालय लमजुङले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने १० करोड ३४ लाख १८ हजार ४६ रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो ।

कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा विभिन्न शीर्षकमा भएको कारोबार तथा सेवा शुल्कमार्फत राजश्व संकलन भएको हो ।

कार्यालयका अनुसार आर्थिक वर्षमा सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट राजश्व संकलन भएको छ । घरजग्गा लिखत दर्ताबाट मात्र ६ करोड २९ लाख ६५ हजार दुईसय ७९ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालय लमजुङमा जम्मा भएको राजश्व रकममध्ये पुँजीगत लाभकर संघीय सरकारमा पठाउने प्रावधान छ । सोबाहेक पुर्जा धितो, रोक्का, सम्शोधन, घर कायम, नामसारी विलम्ब शुल्कलगायत शीर्षकको राजश्व रकम प्रदेश सरकारमा पठाउने प्रावधान छ ।

यसैगरी रजिष्ट्रेशन शुल्कअन्तर्गतको राजश्व रकममध्ये कुल रकमको ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । सोबाहेक बाँकी ६० प्रतिशत रकम स्थानीय सरकारमा पठाउने प्रावधान बमोजिम सम्बन्धित स्थानीय तहका सेवाग्राहीको आधारमा जिल्लाका आठवटै स्थानीय तहमा पठाएको कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा विभिन्न स्थानीय तहबाट आएका घरजग्गासम्बन्धी कारोबारबाट उक्त राजश्व रकम संकलन भएको मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वरकमल श्रेष्ठले बताए ।

गत आर्थिक वर्षमा मात्रै दुई हजार नौ सय १९ वटा दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा पुँजीगत लाभकरतर्फ दुई करोड ६२ लाख ५६ हजार तीन सय ३२ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी, धितो रजिष्ट्रेसनतर्फ एक करोड ३९ लाख ३० हजार ६ सय २५ रुपैयाँ राजश्व संकलन भएको छ ।

सोबाहेक गत आर्थिक वर्षमा नामसारीतर्फ २३ लाख ६ सय २५ रुपैयाँ राजश्व संकलन भएको छ भने पुर्जा बिक्रीबाट ८३ हजार तीन सय २५ रुपैयाँ, विलम्ब शुल्कबाट तीन लाख आठ हजार ६ सय १५ रुपैयाँ, रोक्का प्रतिलिपि दस्तुर बापत तीन लाख सात हजार पाँच सय ३० रुपैयाँ राजश्व संकलन भएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा महिला, दलित र वृद्ध छुटअन्तर्गत ९५ लाख ४६ हजार सात सय ९३ रुपैयाँ राजश्व छुट भएको छ । कार्यालयका अनुसार ९३ लाख २१ हजार दुई सय ३४ रुपैयाँ महिला छुट राजश्व रहेको छ भने एक लाख ४९ हजार २४ रुपैयाँ दलित र ७६ हजार पाँच सय ३५ रुपैयाँ वृद्ध छुट राजश्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?