निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको छ : डा.भीम रावल

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एमालेका सांसद डा.भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिएपनि यसको खुलेआम उल्लंघन भइरहेको बताए ।

उनले कुनैपनि सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानूनको पालना गर्नेछु भनेपनि विदेशीसँग थर्कमान भइ, डरमानी, संविधान उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थालेको बताए । सांसद रावलले शपथ लिइसकेपछि यसलाई कानूनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्न माग गरे ।

सांसद रावलले भने, ‘कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानूनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानि पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्नेकुरा लेखिएको छ । तर, हाम्रो देशमा के देखियो भने विदेशीसँग थर्कमान भइ, डरमानी, संविधान मिचि, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थाल्यो ।

उदाहरणको लागि निर्वाचनमा तालमेलको कुरा गरिएको छ, नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्नेछ । त्यसको लागि काम गर्नुपर्नेछ भन्ने लेखिएको छ । तर, त्यसको खुलआम उल्लंघन गरिएको छ । एक प्रकारको निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको छ । अनि यो शपथको के अर्थ भयो? यसलाई कानूनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्नुपर्छ । राज्य साझेदारी कार्यक्रम अमेरिकासँगको सहकार्यदेखि लिएर एमसीसी, माथिल्लो कर्णालीमा जीएमआर कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेको छ ।

उनले सार्वजनिक पदमा बसेका व्यक्तिहरुले संविधानको ठाडो उल्लंघन गर्ने, संविधान मिच्ने, राष्ट्रिय स्वाधिनतामाथि सोझै प्रहार गर्ने, देशका प्राकृतिक साधनश्रोत अरुलाई जिम्मा लगाउने कुरा गर्दा निजहरुलाई कारबाही गर्ने प्रावधान हुनुपर्ने बताए । सांसद रावलले विदेशीसँग खुलेआम साठगठको काम तीव्र हुन थालेको भन्दै शपथ ग्रहण कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने व्यवस्था गरेर ल्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?