म्याग्दीमा पहिरो : एकै परिवारका ५ जनाको मृत्यु

लोकपथ
195
Shares
file photo

म्याग्दी । म्याग्दीमा पहिरोले घर परिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

मंगलबार जिल्लाको मालिका गाउँपालिका वडा नं २ मा पहिरोले २ वटा घर र एउटा गोठ पुरेको थियो । उक्त पहिरोमा परि एकै परिवारका ७ जना पुरिएका थिए । त्यसमध्ये ५ जनालाई मृत अवस्थामा उद्धार गरिएको र २ जनालाई घाइते अवस्थामा उद्धार गरि उपचारका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख चिरन्जीवी रानाले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरुमा ३६ वर्षीय घामबहादुर विक, उनकी श्रीमती ३४ वर्षीया राममाया विक, १५ वर्षीय नवीन विक (छोरा), १३ वर्षीय राजन विक (छोरा) र ७ वर्षीया अस्मी विक (छोरी) रहेका छन् ।

त्यसैगरी घाइते हुनेमा सोही स्थानका गोठे विक र उनकी श्रीमती गोरी विक रहेका छन् ।

‘आज बिहान उनीहरुको घर र गोठ पहिरोले पुरिँदा ७ जना परेका थिए । त्यसमध्ये २ जना घाइते अवस्थामा उद्धार गरियो, बाँकी ५ जनालाई मृत अवस्थामा फेला पारिएको थियो । घाइतेहरुको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।’ सिडियो रानाले लोकपथसँग भने ।

त्यस्तै जिल्लाका अन्य ठाउँहरुमा समेत बाढी र पहिरोको कारण क्षती पुर्याएको उनले बताए । आजै बिहान मालिका(३ जिमिरे भन्ने स्थानमा घर भित्रै पानीको मुल पलाउँदा सो घर ३ सय मिटर तल भासिएको उनले बताए । उनका अनुसार कुनै पनि मानवीय क्षती भने भएको छैन ।
जिल्लाका विभिन्न स्थानमा भइरहेको बाढी र पहिरोमा परेकाहरुलाई उद्धार र राहतको काम भइरहेको उनले बताए ।

केहिदिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनाहरु भएका विवरणहरु आइरहेका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले बाढी तथा पहिरो पीडितहरुको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?