पेट्रोलियम पदार्थको मूल्य समायोजन नभए आन्दोलनमा जाने अनेरास्ववियुको चेतावनी

लोकपथ
117
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेको छ । भारतीय पेट्रोलियम कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाउदा पनि नेपालमा मूल्य यथावत कायम रहेको भन्दै अनेरास्ववियुले मूल्य घटाउन माग गरेको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्य नघटाइए आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ । ‘वैज्ञानिक तथा स्वचालित मूल्य समायोजनको पक्षमा निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ । पछिल्लो १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाउँदा नेपाल आयल निगमले मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।

‘भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुई पटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बहानाबाजी गर्दै मूल्य घटाएको छैन ।’ अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महंगीको भारी बोकाउन लागि परेको छ ।’ मूल्यवृद्धिले गरीब जनताको चुल्हो बल्न कठिन र सार्वजनिक यातायातको भाडा महंगीएकाले देशमा राज्य छ कि छैन भन्ने अवस्था आएको अनेरास्ववियुले विज्ञप्तिमार्फत् भनेको छ ।

‘मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर, घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजश्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ, अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?