म्याग्दीमा ४० मेगावाटको रघुगंगा जलविधुत अायोजना निर्माण शुरू

म्याग्दी : चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविधुत आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ । 

नेपाल विधुत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि ६ अर्बमा रूपैयाँमा २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु गरेको हो । 

ठेकेदार कम्पनीले नक्साङ्कन (डिजाइन) को काम सकेर बाँध, सुरुङसम्म पुग्ने सडक निर्माण र व्यवस्थापकीय काम शुरु गरेको रघुगङ्गा हाइड्रोपावर लिका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताए । पाण्डेका अनुसार मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विधुतगृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको ठेकेदारले पूर्वतयारीको कामलाई तीव्रता दिएको छ । 

प्रवेशबिन्दु घुमाउनेतालदेखि पिप्लेतर्फ ६०० मिटर सडकको ट्रयाक खुलेको छ । आवासगृह भवन निर्माण र विधुतगृह क्षेत्रमा काम गर्नका लागि झाडी, रुख हटाउने र उपकरण जुटाएर तयारी अवस्थामा राखेको छ । 

ठेक्का सम्झौताको स्वीकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले छ महिना लगाउँदा ठेकेदार परिचालनमा ढिलाइ भएको हो । सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ । 

पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरियोस् भन्ने सरोकारवालाको अपेक्षा छ । म्याग्दीको जलविधुत विकासको मेरुदण्ड मानिएको रघुगङ्गालाई सहजरुपमा समयमै सम्पन्न गराउनुपर्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए । 

यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु-याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?