प्रधानमन्त्रीको लागि गगनलाई विश्वप्रकाशको निरन्तर समर्थन

लोकपथ
767
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई आफूले प्रधानमन्त्रीको रुपमा समर्थन गर्नु स्वभाविक रहेको बताएका छन् ।

आइतबार गृहनगर झापाको धुलाबारीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले थापासँग योग्यता क्षमता र हिम्मत भएको भन्दै उनी प्रधानमन्त्रीको लागि योग्य पात्र रहेको बताएका हुन् ।

‘सम्भावना भएको युवा देशका लागि केही गर्छु भन्ने हिम्मतका साथ आउँछ भने उसलाई समर्थन गर्नुपर्छ, गगन हिम्मत, योग्यता र क्षमता भएका व्यक्ति हुन् ।’ महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माले कांग्रेसमा ५० वर्ष भन्दा कम उमेरका व्यक्ति प्रधानमन्त्री भएको इतिहास रहेको स्मरण गर्दै आफूले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा समर्थन गर्नु स्वभाविक रहेको बताए ।

‘५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको कांग्रेसको इतिहास छ। वीपी कोइराला, शेरबहादुर देउवा ५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको काङ्ग्रेसको इतिहास छ । मैले हिम्मतका साथ गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेको हुँ, एमाले, माओवादीका नेताले पनि युवालाई प्रस्ताव गर्नु भयो भने मेरो नकारात्मक टिप्पणी किमार्थ हुँदैन ।’ महामन्त्री शर्माले भने ।

यसअघि एक टेलिभिजन अन्तर्वार्तामा महामन्त्री थापाले आफू प्रधानमन्त्रीको लागि तयारी गरिरहेको बताएका थिए । त्यसको केही दिनमा महामन्त्री थापाले ५० वर्ष भन्दा कम उमेरको व्यक्ति प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि आउँदा आफूले सहयोग गर्ने भन्दै गगनको समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?