छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । कास्की, नवलपरासी र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित सडकमा ग.१७ प १९७० नम्बरको मोटरसाइकललाई ग.१ क ५१५२ नम्बरको ट्रकले आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक बस्ने २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको छ ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा अचानक आगलागी हुँदा जलेर गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–१२ प्रतापपुरस्थित सडकमा लु.१ क १२५५ नम्बरको बसबाट लडेर सोही ठाउ बस्ने ४५ वर्षीया देवाकी भुषालको आइतबार साँझ मृत्यु भएको छ । बसबाट लडेर गम्भीर घाइते भएकी उनको चौराह अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित सडकमा प्र २–०३–०२१ प ३३६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महोत्तरी औराही नगरपालिका बस्ने १८ वर्षीय गौतम यादवको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना र एक जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?