प्रहरी महानिरीक्षक सिंहद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको उद्घाटन

लोकपथ
143
Shares

कैलाली । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको उद्घाटन गरेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र अस्पताल शाखाको सोमबार उद्घाटन गरिएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी स्कुलको हाताभित्र वृक्षारोपण समेत गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने विन्दुसम्म ल्याउने कार्यमा महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिए । उनले अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउँदै नेपाल प्रहरीको जनमूखी कार्यलाई निरन्तरता दिएको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक सिंहले अस्पतालले प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूमा प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचारकै लागि उपत्यका नै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्दै सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गरिदिएको र यसले समग्र प्रहरी काम कारबाहीमा थप चुस्तता र प्रभावकारीता ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अस्पतालमा आउने सेवाग्राहीप्रति सभ्य बोली, असल व्यवहार र उचित परामर्श गर्नतर्फ अस्पताल परिवारलाई विशेष सजकता अपनाउन निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले चिकित्सकीय क्षेत्रका आधुनिक प्रविधि र विकासलाई आत्मसात गर्दै अस्पतालको स्तरोन्नती र विकास संगठनको प्राथमिकतामा रहेको बताए ।

नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मोहनकुमार आचार्यले धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, गेटा मेडिकल कलेजका निर्देशक डा.प्रमोद जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, संचारकर्मी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?