सांसदको श्रीमानलाई वीपी प्रतिष्ठानको रजिष्ट्रारको जिम्मेवारी दिएसँगै विवाद

लोकपथ
195
Shares

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा.सूर्य संग्रौला आइतबार नियुक्त भए ।

नेपाली कांग्रेस नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा.डिला संग्रौलाका श्रीमान संग्रौलालाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा स्वास्थ्य मन्त्री भवानी खापुङले रजिष्ट्रार नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाको निर्देशनमा नियुक्त भएका संग्रौला नियुक्त भएलगतै विवादमा तानिएका छन् । उनको नियुक्तिप्रति असन्तुष्टि बढ्दै गएको छ । सांसदको श्रीमान् भएकाले उनलाई रजिष्ट्रार पदमा नियुक्त गरिएको भन्दै असन्तुष्टि बढेको हाे ।

विवादित उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीकै सिफारिसमा संग्रौलालाई रजिष्ट्रार पदमा नियुक्त गरिनु गलत रहेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार संघर्ष समितिले उनलाई स्वागत नगर्ने समेत जनाएको छ ।

यसअघि डाक्टर संग्रौला पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रकको जिम्मेवारीमा थिए । डाक्टर संग्रौला २०७८ साल साउन १ गतेबाट पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रकको जिम्मेवारीबाट बिदा भएका थिए । परीक्षा नियन्त्रकको चारवर्षे कार्यकाल सकिएको एक वर्षपछि उनले वीपी प्रतिष्ठानमा जिम्मेवारी पाएका हुन् ।

वीपी प्रतिष्ठान सुधारको माग राख्दै सुरु भएको आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन रजिष्ट्रार डाक्टर मोहनचन्द्र रेग्मीले गत भदौ ११ गते पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?