ओलीको प्रश्न : ‘राजनीतिक दलका नेतासँग कामु प्रन्याले भेटेपछि कस्तो न्याय मिल्ला ?’

लोकपथ
143
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेकोबारे प्रश्न उठाएका छन् ।

आइतबार राष्ट्रिय युवा संघको नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कामु प्रन्या कार्कीको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटबारे प्रश्न उठाएका छन् ।

बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायालयका मुख्य व्यक्तिले राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नाले न्यायमा सम्पादनमा नराम्रो असर पर्ने भन्दै कटाक्ष गरेका छन् ।

‘तपाईँहरू देखिरहनुभएको छ, समाचारहरू अखबार र अनलाइनमा आइरहेका छन् । एकजना नेता कुदेर कामु प्रधानन्यायाधीशकहाँ गएर २ घण्टा बसे । त्यहाँबाट बाहिर निस्किएपछि ती नेता घरतिर लागे, श्रीमानजी अदालततिर जानुभयो ।’ ओलीले भने ।

त्यसैगरी पछिल्लो समय सर्वोच्चमा राम्रोसँग न्याय सम्पादन हुन नसक्नुमा काम प्रन्याको हात रहेको समेत आरोप लगाएका छन् । साथै न्याय किनबेच हुने गरेको भन्दै त्यसो गर्नु दुखद रहेको समेत बताए ।

‘त्यहाँ के भयो ? लेनदेन हुने गरेको छ नेपालमा । हामी विनम्रताका साथ आग्रह गर्छौं, सम्मानति सर्वोच्च अदालतबाट न्याय सम्पादन हुनुपर्छ, कुनै खुसामद होइन ।’ ओलीले भने, ‘कुन खासखुस, कुनै लेनदेन, कुनै घासघुस जसको चर्चा चलेको छ, त्यही कुरा निरन्तर हुनु हुँदैन ।’
पछिल्लो समय सत्तारुढ गठबन्धनको उलमुलामा सर्वोच्च अदालत परेको ओलीको आरोप रहेको छ । न्यायधीशहरुले नै अदालत भ्रष्ट भएको आरोप आइरहेको भन्दै गठबन्धनको खेलमा सर्वोच्च पर्नु दुखद रहेको बताए ।

ओलीले भने, ‘अदालतका न्यायाधीशहरू भनिरहेका छन् अदालत भ्रष्ट भयो,बदनाम भयो । त्यसबाट मुक्त गर्नका लागि श्रीमान न्यायाधीशहरूलाई आग्रह गर्न चाहान्छु । मुख्यरूपमा न्याय सम्पादन होस् । यस सत्ता गठबन्धनको उलमुलामा अदालत पर्नु हुँदैन । यो गठबन्धन भनेको २ दिनको पाहुना हो । ढोडका लौराको भर परेर नचल्न सुझाव दिन चाहान्छु ।’

साथै प्रमुख प्रतिपक्ष दलको हैसियतमा एमालेले कुनै पनि काम सजग रुपमा काम गर्ने बताउँदै न्यायको पक्षमा कदम चाल्नुपरेमा एमाले पनि कदम चाल्न तयार रहेको चेतावनी दिए ।

‘यदि देशको पक्षमा, न्यायको पक्षमा कदम चाल्नुपरेमा एमाले पनि कदम चाल्न सक्छ र तयार छ भन्ने कुरा पनि राख्न चाहान्छु । हामी सबै कुरा सजगताका साथ साथ हेरिरहेका छौं । कुनै पनि बेथिति सहँदैनौं ।’ ओलीले भने ।

न्यायपरिषदमार्फत कामु प्रन्याले कतिपय न्यायाधीशहरूमाथि छानीछानी बदला लिने ढंगले कारबाही अघि बढाउने र सत्ता गठबन्धनलाई सहज हुने फैसला तथा आदेशहरू दिने क्रम बढिरहेको समेत ओलीले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?