काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा सफाई पाएका छन् । संसदीय विशेष छानबिन समितिले प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष निकालेको हो ।
समितिले १७ दिन लगाएर गरेको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए । छानबिनका क्रममा समितिले ७५ घण्टा खर्चिएको कर्णले जानकारी दिए ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा एमालेका माग बमोजिम समिति गठन भएको थियो । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । जसको समयावधि बिहीबार सकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया