पावर बेस राजनीति बढेकाले दलहरुप्रति निरासा बढ्यो : प्रकाशमान सिंह

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मूल्य मान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निरासा बढेको बताएका छन् ।

शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् । उनले २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको समेत बताए । २०४७ सालमा संविधान जारी गरेपछि भएको निर्वाचनमा भट्टराई पराजित भएका थिए । त्यसबेला उनलाई कांग्रेसले नै अन्तर्घात गरेर हराएको थियो ।

‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो दुरावस्थामा पुगेको हो,’ उनले भने । अझै पनि प्राप्त उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेकाले मुलुकका सामु गम्भीर चुनौती देखापरिरहेको समेत बताए ।

राजनीतिक दलहरु विधि पद्धतिभन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन् चुनौती थपिएको भन्दै उनले राजनीतिक दलहरुका कार्यशैली सच्चिनुपर्नेसमेत बताए । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेकोसमेत उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?