कर्णाली र तराईका ८ जिल्लामा सञ्चार सेवा पुर्‍याइनेछ : मन्त्री कार्की

लोकपथ
13
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरुमा निःशुल्क वाईफाई जडान गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले आगामी दिनमा नयाँ नीति र कार्यक्रम अनुसार मन्त्रालय अगाडि बढ्ने बताए । मन्त्री कार्कीले नेपाल सूचना र सञ्चारको क्षेत्रमा कमजोर नभएको पनि बताए । उनले नेपाल सूचना र सञ्चारको क्षेत्रमा एसियामा नै कमजोर नभएको तर, सन्तोष हुने अवस्था पनि नरहेको बताए ।

मन्त्री कार्कीले सञ्चार क्षेत्रको विकास गर्न सबैको जिम्मेवारी रहेको भन्दै जिम्मेवारीबाट कोहीपनि पछि हट्न नहुने बताए । उनले सरकार सूचना र सञ्चार क्षेत्रको विकास गर्न सधैं तत्पर रहेको जिकिर गरे ।

मन्त्री कार्कीले नेपाल टेलिकमले आम नागरिकलाई ईसिम कार्ड सेवा बिस्तार गर्ने तयारीमा रहेको पनि जानकारी दिए । उनले सञ्चारको क्षेत्रमा सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न नसकिने दाबी गरे ।

मन्त्री कार्कीले सरकारले चाँडै महत्वपूर्ण पर्यटकीय, धार्मिक क्षेत्रहरु, विद्यालय र अस्पतालहरुमा निःशुल्क इन्टरनेट जडान गर्ने नीति अगाडि बढाउने चरणमा रहेको उल्लेख गरे । उनले भने,‘अब नेपाल टेलिकम छिटै ईसिम कार्डमा जादैछौँ । हामीले सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न सक्दैनौं ।

मन्त्रालयले कर्णाली र तराईका ८ जिल्लालाई विषेश प्राथमिकता दिनुपर्छ भन्दै मन्त्रालयले त्यही अनुसार सञ्चार क्षेत्रमा काम गरिरहेको छ ।’ सञ्चारमन्त्री कार्कीले नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताए ।

उनले सूचना र प्रविधिको क्षेत्रबाट नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको भन्दै यो क्षेत्रको विकास गर्न जरुरी रहेको बताए । मन्त्री कार्कीले नेपालमा सञ्चार प्रविधिको विकास गर्न नीतिगत समस्या नभएपनि कार्यान्वयनको समस्या रहेको बताए ।
मन्त्री कार्कीले आगामी १० वर्षपछि दुर्गम भनिएको कर्णाली प्रदेशमा जानको लागि हानाथाप हुने गरेर नीति तर्जुमा गरिरहेको दाबी गरे ।

उनले भने,‘ जसरी नेपालमा पर्यटन,जलस्रोतको सम्भावना रहेको छ त्यसरी नै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको छ । सूचना र प्रविधिको क्षेत्रबाट नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको छ । त्यसैले यो क्षेत्रको विकास गर्न जरुरी छ ।
सञ्चार प्रविधिको विकास गर्न नीतिगत समस्या छ जस्तो लाग्दैन ।

हामीलाई कार्यान्वयनको मात्रै समस्या रहेको छ । कार्यान्वयन गर्ने दिशामा हामी सबै अगाडि बढौं । अब कर्णालीको धेरै स्वर्णिम भविष्य रहेको छ । अहिले दुर्गम, दुर्गम भनिन्छ । १० वर्षपछि सबै कर्मचारी कर्णाली जाने हानाथाप हुनेछ । सञ्चार मन्त्रालय नेपाल टेलिकमको टावरको सेवा पुर्‍याउन कर्णाली र तराईका ८ जिल्लालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छ ।’

सञ्चार मन्त्री कार्कीले सञ्चार मन्त्रालय नेपाल टेलिकमको टावरको सेवा पुर्‍याउन कर्णाली र तराईका ८ जिल्लालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?