काठमाडौं । पोखरामा देशभरका ६ महानगरका मेयर भेला हुने भएका छन् । आगामी साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने भएको हो ।
सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।
पहिलो दिन लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउण्टेन लजमा सहभागि हुने कार्यक्रम रहेको बताइएको छ । बैठकमा संघीयता, महानगर र अबको बाटोबारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलको मुख्य प्रस्तुति रहने बताइएको छ । यस्तै, पोखरासहित काठमाडाैं, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मूख्य योजना तथा कार्यान्वयनका चुनौतीबारे सम्बोधन गर्नेछन् ।
महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानून र तिनका कार्यान्वयनका चुनौतीबारे मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ ।
साथै, दोस्रो दिन महानगरको साझा सवालबारे संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासनबारे पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले प्रस्तुति राख्नुहुनेछ । यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौतीबारे छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुने पोखरा महानगरका प्रमुख आचार्यले बताए ।
उनले महानगरबीचका काम र सम्भावनालाई उजागर गर्ने कुरामा पनि छलफल हुने बताए । मेयर आचार्यले अनुभवी मेयरले भोगेका समस्या र समाधानका उपाय र नयाँ जनप्रतिनिधिबाट आउने योजनाका बारेमा विस्तृत छलफल हुने बताए ।
उनले भने, ‘महानगरपालिकाहरु स्वभाविक हिसाबले जनसंख्या पनि बढी भएको, वडाहरु पनि धेरै भएको, नेपाल सरकारको स्थानीय तहलाई सबैलाई हेर्ने एकै खालको ऐन, नियमहरु भएको अवस्थामा केही विषयहरु अन्योलपूर्ण छन् । कतिपय संघसग छन्, कतिपय प्रदेशसग छन् । हामीले भोगेका समस्याहरु के हुन्? हामीले के खालको सुझाव दिन सकिन्छ? र हाम्रा कामलाई सहजीकरण गर्न सक्छौ भनेर हाम्रा अनुभवहरु शेयर गर्नको लागि हो ।’
महानगरका प्रमुख आचार्यले महानगरको पूर्वाधार विकासमा के खालको विकास गर्न सक्छौ भन्ने कुराको छलफल गर्नको लागि कार्यक्रमको आयोजना गरिएको र यसलाई हरेक वर्ष गर्ने निरन्तरता दिने तयारीे भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया