काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।
बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागि नहुने भनेर मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो । समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायहरुलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरेपनि नपाएकोले सो कागजात प्राप्न गर्न नसक्नुको कारण पनि माग गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताईन् ।
त्यस्तै, प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणको सम्बन्धमा पनि विभिन्न प्रकारका हल्लाहरु आएकाले भ्रमणको सम्बन्धमा आधिकारिक कुरा आगामी बैठकमा सम्बन्धित निकायलाई बोलाएर लिइने उनले बताईन् ।
सभापति खरेलले भनिन्, ‘प्रधानसेनापति अस्ट्रेलिया गएको कुरा हामीले जानकारी पायाैंँ। केको लागि जानुभएको हो? हामीलाई जानकारी छैन । त्यसले गर्दा आधिकारिक रुपमा आधिकारिक ठाउँबाट यो जानकारी हामीलाई चाहिन्छ । यसले गर्दा आजको बैठकले हामीले के निर्णय गर्नुपर्ने हुन्छ भन्ने लाग्छ, आधिकारिक ठाउँबाट केका लागि जानुभएको हो, हल्ला विभिन्न किसिमको आइराखेको छ ।’
उनले हल्लाको पछि नलाग्न आग्रह गर्दै भनिन्,‘हामी आधिकारिक तथ्य, प्रमाण लिन चाहन्छौँ। अहिलेको सन्दर्भमा माननीय सदस्यहरुले भनेजस्तै फेरि एकचोटि हामी मन्त्रालयलाई पत्राचार गर्नेछौँ । रक्षा मन्त्रालयलाई पत्र पठाउनेछौँ । एसपीपीमा नेपाल सहभागि नहुने भनेर अमेरिकालाई लेख्नुपर्ने पत्र आजसम्म किन गइराखेको छैन? नजानुको कारण के हुन्? प्रस्ट किसिमको जानकारी होस् भनेर हामी पत्राचार गर्ने कुरा यहाँहरु समक्ष राख्न चाहन्छु ।’ समितिको बैठकमा ‘विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ ले आफ्नो प्रतिवेदन पनि पेस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया