धेरै पैसा खर्च नगरे चुनाव जित्न गाह्रो छ : प्रचण्ड

लोकपथ
130
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताए । उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए ।

उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताए । अध्यक्ष दाहालले श्रमजीवि जनता र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने कुरा सपना झैँ भएको बताए ।

अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए । उनले देशको शासन प्रणाली पनि शासन देश अनुकुल नभएको दाबी गरे । अध्यक्ष दाहालले अहिले सांसद हुन करोडौं खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताए ।

उनले भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गरे । अध्यक्ष दाहालले यस बारेमा माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार रहेको दाबी गरे ।

अध्यक्ष दाहालले भने, ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो । श्रमजीवि जनताले अब क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो । आउने दलाल पुँजीपतिहरु आउने भए । नोकरसाह पुँजीपति आउने भए । भ्रष्टहरु आउने भए । त्यो खतरा दिनप्रतिदित बढ्दो छ । यसलाई विषय बनाएर हामीले गहिरो गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भएका राजनीतिक दलहरु भित्र पनि छलफल पनि गर्न आवश्यक छ । ठूलो आन्दोलन गर्नुपर्ने भयो । नत्र यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न सकिँदैन, नराम्रो भुमरिमा लैजान्छ । भड्खारोमा नै लैजान्छ । अनि हाम्रो अर्को सिस्टम पनि देशको अनुकुल छैन । शासन प्रणालीको दृष्टिकोणले पनि देशको अनुकुल छैन । सांसद हुने बेलामा करोडौं खर्च गरेर किन हुन्छ त मान्छे ? किनभने सांसद नभइ मन्त्री हुन पाइँदैन, प्रधानमन्त्री हुन पाइँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्छन् । सांसद भएपछि मन्त्री हुनपनि चल्नुपर्‍याे  अनेक खालका खेलहरु । मन्त्री भएपछि लगानी उठाउनुपर्‍याे । भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन
प्रणालीभित्र र शासन प्रणालीभित्र अन्तरनिहीत छ । यसलाई हामीले रिजर्भ राखेका छौँ । माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार छ । हामीले यो प्रणालीबाट जनताले पाउनुपर्ने कुरा पाउँदैनन् भनेर नोट अफ डिसेन्ट लेखेका छौँ ।’

अध्यक्ष दाहालले देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी गरे । उनले परिवर्तन स्थापित गर्न, संविधान सभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भुमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृति हाबी नभएसम्म देशले सुख नपाउने जिकिर गरे ।

उनले माओवादी बलियो नभएसम्म उत्पीडित वर्ग, जाती र समुदायले सुख नपाउने बताए । अध्यक्ष दाहालले पार्टीभित्र र कम्युनिष्ट आन्दोलनमा धेरै विचलन, विकृति, विसंगति देखापरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?