काठमाडौं । आज हरितालिका तीज । हरेक वर्षझैं यस वर्ष पनि पशुपतिमा भव्य तरिकाले तीज मनाइँदै छ । पशुपतिको प्राङ्गणमा रातो सारी, चुरा, पोते, सिन्दूर, गरगहनामा झपक्कै सजिएका व्रतालुहरुको लाम लागेको छ ।

कोही निर्जला व्रत बसेका छन् भने कोही पानी पिउँदै, फलफूल खाँदै पनि आफ्नो पतिको लामो आयु र स्वस्थ जीवनका लागि व्रत बसेका छन् । त्यसैगरी अविवाहित युवतीहरुको भीड पनि कम्ती छैन ।

जे होस् चर्को घाम, भोकप्यासलाई नजरअन्दाज गर्दै नाँचगान गर्नमा, रमाइलो गर्नमा तल्लीन छन् महिलाहरु ।
भाद्र शुक्ल द्वितीया देखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न हुने मानिन्छ ।
भगवान शिवको आराधना गर्दै नाँचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।
प्रचलित जनविश्वास अनुसार हिमालय पुत्री पार्वतीले शिवजीलाई आफ्ना पतिका रुपमा पाउनलाई तीजको व्रत राखेको र प्राप्त गरिसकेपछि पनि आफ्ना पतिको दीर्घायु र स्वस्थ्य जीवनको कामना गर्दै व्रत बसेकाले यो दिनलाई हरितालिका तीजका रुपमा मनाइँदै आएको हो ।

रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपतिनाथ मन्दिर परिसर लगायत देशभरका शिवालयहरुमा अत्यधिक भीड लागेको छ ।











तस्वीर: सरोज घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया