‘दलहरु प्रतिगामी नारामा लिप्त भए’ : हृदयेश त्रिपाठी

लोकपथ
35
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले ठूला राजनीतिक दलहरुले संविधानको स्तम्भमाथि प्रहार हुनेगरी आगामी निर्वाचनको चुनावी मुद्दा बनाउन लागेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य त्रिपाठीले आगामी संघ र प्रदेशको निर्वाचनमा संविधानको मर्ममाथि प्रहार हुनेगरी चुनावी मुद्दा बन्न लागेको बताएका हुन् ।

उनले ठूला राजनीतिक दलहरु संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षतामाथि प्रहार र दुई दलीय व्यवस्थाको वकालत गरेर निर्वाचनमा जान लागेको आरोप लगाए । उनले दलहरु प्रतिगामी नारामा लिप्त भएको बताए । उनले यस्तो मुद्दाले लोकतन्त्र जोखिममा पर्ने उल्लेख गरे ।

उनले भने,‘आगामी चुनावमा संविधानको स्तम्भमाथि नै प्रहार हुनेगरी चुनावी मुद्दा वा नारा बन्ने देखिन्छ । संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षतामाथि प्रहार, दुई दलीय व्यवस्थाको विक्षिप्त वकालत जस्ता विषयहरुलाई कथित जिम्मेवार दलहरुले नै नारा बनाई निर्वाचनमा जाने लक्षण देखिन्छ । राजनीति शास्त्र र समाजशास्त्रिय दृष्टिकोणले हेर्ने हो भने आफूहरुले गतिलो काम गर्न नसकेको, अग्रमगन तथा दूरदृष्टिको अभावका कारण यसप्रकारका प्रतिगामी नाराका सहारा लिनमा दलहरु लिप्त भएका हुन्छन् र भएका छन् ।

हामीलाई थाहा छ प्रगतिशील एजेण्डा नरुचाएकाहरुको बाहुल्यता छ । तर, ख्याल रहोस् यसप्रकारको कुप्रभाव, कुभावनाले लोकतन्त्र नै जोखिममा पर्न सक्दछ । किनभने आलिले नै बालि खाएपछि त्यो बालि बचाउन सकिन्न । प्रहार किस्ताबन्दीमा अरुअरु विषयमा भएपनि समग्रमा प्रहार अन्तत्वगत्वा लोकतन्त्रमाथि नै हुने आगामी चुनावको नारा बन्ने सम्भावना मैले धेरै जिम्मेवार दलहरुबाट देखिरहेको छु ।’

प्रतिनिधि सभा सदस्य त्रिपाठीले बैंकहरु नाफामुखी मिटरब्याजी साहु जस्तो भएको टिप्पणी गरे । बैंकहरुले उद्योगमा लगानी गर्न नचाहेको र अनुत्पादक क्षेत्रमा लगानी गरेर देशलाई भार बोकाउन लिप्त भएको बताए । बैंकहरुले कानुनले निर्धारण गरे बमोजिमको लगानी कृषि क्षेत्रमा लगानी नगरेको भएपनि राष्ट्र बैंक लाचार भएर बसेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?