स्वास्थ्य क्षेत्रको विश्वसनीयता र क्षमता अभिवृद्धि गर्न जरुरी छ : अध्यक्ष तिमिल्सिना

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड–१९ महामारी तथा जनस्वास्थ्यका विषयहरु सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ–नयाँ सरुवा र नसर्ने रोगहरु बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धी र पूर्व तयारीको काम गर्नुपर्ने बताए । नेपालको स्वास्थ्य क्षेत्रको क्षमताका कारण कतिपय बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था रहेको समेत अध्यक्ष तिमिल्सिनाले औंल्याए ।

‘नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्य सम्बन्धी अध्ययनका लागि रकम बाहिरिरहेको छ,’ उनले भने, ‘यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो । अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन जरुरी छ ।’

स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि तथा विश्वास बढाउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरतसँगै जनतप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण हुने धारणा उनले राखे । राजनीतिक परिवर्तनका नाममा देशले लामो समय गुजारेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब देशमै अध्ययन, उपचारको व्यवस्था र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

‘उपचार र अध्ययनका लागि छिमेकी देशमा जाने संख्या धेरैं छ,’ उनले भने, ‘तर, आखा लगायत केही रोगको सुलभ र गुणस्तरीय उपचार नेपालमा पनि हुन थालेकाले यहा आउने क्रम सुरु भएको छ । यो संख्या वृद्धी गर्न हाम्रो क्षमता अझ अभिवृद्धि हुनुपर्छ ।’

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले कोरोना लगायतका महामारी र अन्य रोगहरु बढ्ने क्रममा रहेकाले पूर्वतयारीका काममा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरूरी रहेको बताए । ‘कोभिड लगायतका महामारीले गर्दा स्वास्थ्यमा मात्रै नभइ मानसिक, आर्थिक र सामाजिक लगायतका समस्याहरु पनि बल्झिएको छ ।’ कार्यक्रममा उनले भने, ‘स्वास्थ्यलगायत राष्ट्रिय समस्याबारे गम्भीर छलफल र समाधानका लागि हामीले चाँसो राख्नुपर्छ ।‘

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका सांसदहरूको सहभागी रहेको थियो । यस्तै, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?