आम निर्वाचनमा २० देखि २५ सिट ल्याउछौं : माधव नेपाल

लोकपथ
133
Shares

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने चेतावनी दिएका छन् ।

आगामी मंसीर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अव भने गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका हुन् ।

पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरुले आफूहरुलाई सहयोग नगरेको अध्यक्ष नेपालको भनाई थियो ।

उनले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दावी समेत गरे । स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौं लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे ।

उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले आगामी निर्वाचनमा कम्तीमा १२ सिट जित्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले तपाईहरुलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं । अव मंसीर महिनामा चुनाव आउँदैछ । सम्भवत मंसीर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अव कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अव डम्फू बजाउने होईन । अव यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो । त्यो बेला हामीले गठबन्धन भएपछि त जिति हालिन्छ । त्यसो हुनाले हामीले स्थानीय तह निर्वाचनमा मेहनत कम गर्‍याैं । संगठन बनाउने कुरामा ध्यान कम दियौं । संगठन विस्तार गर्ने कुरामा ध्यान कम दियौं । फलस्वरुप हामीले गठबन्धन दलबाट जति सहयोग पाउनुपर्ने हो, जति महत्व पाउनुपथ्र्यो, त्यो पाउन सकेनौं । तर पनि चिन्ता गर्नुपर्ने कुरा के छैन भने हामीले उठाएका उम्मेदवार जम्मा करिव २८ प्रतिशत थिए । तर हामीले भोट कति ल्यायौ थाहा छ रु नौ लाख २७ हजार । सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला । २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन । यो कुरालाई बुझ्नुपर्ने आवश्यक्ता छ । नेपाली कांग्रेस एउटा शक्तिको रुपमा उदाएको छ । हिजोदेखिको इतिहास भएको हुनाले एमाले पनि खुम्चिदै गएको भएतापनि त्यो दोस्रो शक्तिको रुपमा छ भने अनि माओवादीले पनि यस बीचमा जनयुद्ध लडेर आउने क्रममा आफ्नो हैसियत देखाएको छ भने हाम्रो पार्टी यति छोटो समयमा विद्रोह गरेर, नयाँ क्रान्तिकारी चेत लिएर आएको हाम्रो पार्टीले आफ्नो छुट्टै शक्ति देखाउन अवस्था छ । अहिले हाम्रो प्रतिनिधिसभामा समानुपातिकसहित २४ सिट छ । १२ जना प्रत्यक्षबाट निर्वाचित छौं हामी प्रतिनिधिसभामा । त्यसलाई त घटाउन सक्दैन कसैले पनि । त्यो हुनाले अरु पार्टी भन्दा हाम्रो हैसियत कमजोर हुने होइन नि ।’

अध्यक्ष नेपालले छोटो समयमै आफ्नो पार्टीले सुदृढ भएर नयाँ कीर्तिमान कायम गरेको जिकीर समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?