‘नेपाल चाँडै सबल अर्थतन्त्र भएको मुलुकको रूपमा स्थापित हुनेछ’ : मन्त्री कार्की

लोकपथ
0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रूपमा स्थापित हुने बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाल श्रीलंकाको बाटो नगएको दाबी गरे ।

उनले नेपालको अर्थतन्त्रमा केही समस्या रहेपनि श्रीलंका पथमा नेपाल नरहेको बताए । उनले आगामी १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रूपमा परिणत गरेर अघि बढ्ने बताए । मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध रहेको पनि दाबी गरे ।

उनले सरकार दक्षिण एसियामा नै प्रेस स्वतन्त्रताको अग्रणी देशको रूपमा नेपाललाई स्थापित गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘यो सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिबद्ध छ । त्यतिमात्र होइन, नेपाली कांग्रेस सदैव प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न चाहन्छ । यो सरकार दक्षिण एसियामा नै प्रेस स्वतन्त्रताको अग्रणी देशको रूपमा नेपाललाई स्थापित गर्न चाहन्छ ।’

मन्त्री कार्कीले नेपाल श्रीलंकाको बाटोतर्फ गइरहेको छ भनेर अफवाह फैलाइएको बताए । उनले भने, ‘अहिले देशमा हरेक चोक/चोकमा एउटा अफवाह फैलाइएको छ । नेपाल श्रीलंकाको बाटोतर्फ गइरहेको छ भनेर । नेपाल श्रीलंकाको पथमा अग्रसर हुँदैछ भन्ने अफवाह छ, नेपालको अर्थतन्त्रमा केही समस्याहरू छन्, तर नेपाल श्रीलंकाको पथमा जाँदैन । जुन भ्रम छ त्यसलाई चिरेर नेपाली जनतालाई, हामीले आश्वस्त गर्न जरूरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?