नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्नु राष्ट्रको हित विपरित : प्रेम सुवाल

लोकपथ
42
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताएका हुन् ।

उनले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताए। नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उनले बताए ।

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उनको भनाइ छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उनले बताए । जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने उनले बताए ।

सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गरे ।

त्यस्तै नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृति बारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तिणर् गरेमा नेपालको कृतिम नागरिकता दिनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?