श्रीलंकाका नयाँ प्रधानमन्त्री दिनेश गुणवर्देनाले लिए सपथ

लोकपथ
130
Shares

काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको टापु मुलुक श्रीलंकामा नयाँ प्रधानमन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षीय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।

गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अहिले सांसद छन् । केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई गृह मन्त्री नियुक्त गरेका थिए ।

गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुन् । उनको पार्टीका संसदमा २ जना सांसद छन् । दुई दिनअघि राष्ट्रपति बनेका विक्रमासिंघे पनि संसदमा आफ्नो पार्टीका एक्ला सांसद थिए । राजापाक्षे परिवार सत्ताबाट बाहिरिएर नयाँ व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बने पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन । यसैबीच शुक्रबार बिहानै सैनिक र प्रहरीहरूले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेका छन् ।

प्रदर्शनकारीहरूले तीन महिनादेखि कब्जामा लिएर प्रदर्शन गरिरहेको ठाउँमा सुरक्षाकर्मीले धरपकड गरी उनीहरूलाई धपाएका हुन् । घटनामा केही प्रदर्शनकारी घाइते भएको र केहीलाई प्रहरीले पक्रेको समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति निर्वाचित भएपछि विक्रमासिंघेले अहिलेका प्रदर्शनकारीहरू फासिस्ट भएको भन्दै कानुनअनुसार उनीहरूलाई कारबाही गर्ने बताएका थिए ।

राजापाक्षेहरू सत्ताच्युत भएपनि अहिले राष्ट्रपति विक्रमासिंघे राजापाक्षे परिवारकै मान्छे भएको प्रदर्शनकारी आरोप छ । राजापाक्षेहरूले गलत नीति लिएर मुलुकलाई आर्थिक संकटमा फसाएको भएपनि नयाँ प्रशासनले उनीहरूलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिने भन्दै उनीहरूले आन्दोलन जारी राखेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?