सरकारले चियालाई बेवास्ता गर्‍यो : झलनाथ खनाल

लोकपथ
130
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन् । उनले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे । सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए ।

उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको बताए । उनले तत्काल चियाका अक्शन सेन्टर खोल्नुपर्ने बताए । सांसद खनालले संगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए ।

उनले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘इलाममा चिया उत्पादन बिस्तार हुँदै गएको छ, देशमा पनि चिया फैलिँदै गएको छ, त्यो तिर सरकारले बिल्कुलै बेवास्ता गरिरहेको छ । यस वर्षको नीति, कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यसमा जाला कि भन्ने अपेक्षा गरेको थिएँ । तर प्रधानमन्त्रीले अघि सारेको नीति कार्यक्रम सम्माननीय राष्ट्रपतिको मुखबाट आयो तर चियाको बारेमा कतै उच्चारण हुन सकेन । तर अर्थमन्त्रीबाट आउँदा पक्कै आउँछ होला, बजेटमा आउँछ होला, किनभने यो देशको कृषि उपजमा महत्वपूर्ण हो भन्ने थियो, तर उहाँको बजेटमा पनि कतै चियाको चर्चा हुन पाएन । हामी बिदाको बेलामा चिया पिउन जुन बेलामा पनि जान्छौँ तर चियाको बारेमा जुन ढंगले ध्यान आकर्षित हुनुपर्ने हो त्यो भएन । विश्वभर नै चिया अहिले महत्वपूर्ण पेयको रुपमा छ । खास गरेर हामी पानी त धेरै ठूलो मात्रामा पिउँछौँ । संसारमा सबैभन्दा बढी पिउने पेय पदार्थ चिया हो । हामी विकास त गर्दैछौँ तर दिनुपर्ने ध्यान दिन सकेका छैनौँ । राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुपर्ने स्थिति बनेको छ । सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिन्छ । तर हामीले अध्ययन गरेर योजना बनाउने काम गर्न सकेका छैनौँ । राज्यले बजार खोज्न भुमिका खेल्नुपर्छ । नत्र चिया उत्पादकहरुले चिया उखेलेर फाल्दैनन् भन्न सकिँदैन । उनीहरुले चियाको उचित मूल्य पाइरहेका छैनन् । चियाको चिनियाँ बजार पाउने हो भने धेरै फाइदा लिनसक्छ । चियाको अक्शन सेन्टर खोल्नुपर्छ । तत्काल खोल्नुपर्‍यो । रुलिङ गर्न आग्रह गर्दछु ।’

सांसद खनालले सकरार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए । उनले आर्थिक संकटतर्फ देश गइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले इलाममा चियाको संग्रहालय बनाउन पनि माग गरे । सांसद खनालले चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?