करार कर्मचारी नहटाउन गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

लोकपथ
91
Shares

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करार सेवामा रहेका कर्मचारीलाई नहटाउन आग्रह गरेकाे छ । कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्न स्थानीय सरकारहरूलाई महासंघले अनुरोधसमेत गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै करार सेवाका कर्मचारी नहटाउन आग्रह गरेको हो । अनुभवी कर्मचारी हटाउँदा स्थानीय सरकारका कामकारबाहीमा पनि असर पर्ने महासंघको भनाइ छ ।

चालू आर्थिक वर्ष २०७९/०८० सुरु भएदेखि नै कतिपय स्थानीय सरकारले करारमा कार्यरत कर्मचारीलाई समूहगत रुपमा एकमुुष्ट रुपमा नै म्याद थप नगर्ने भनी प्रकाशित सूचना तथा समाचारहरुले यस महासंघको ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ ।

गाउँ/नगरले साउन १ देखि करारका कर्मचारीको म्याद थपेका छैनन् । स्थानीय तहमा करारतर्फका सरसफाइ गर्नेदेखि सवारी चालक र स्वास्थ्यकर्मी, शिक्षक रिक्त अवस्था छ । लोक सेवा/प्रदेश लोक सेवाबाट सिफारिस भई कर्मचारी नआएसम्मका लागि करार सेवाका कर्मचारीलाई नै निरन्तरता दिन महासंघले आग्रह गरेको छ ।

‘स्वीकृत दरबन्दीभित्र विद्यमान कानूनबमोजिम प्रक्रियागत नियुक्ति भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गरी सेवा लिनु स्थानीय सरकारका लागि अवसर पनि हो किनकी ती कर्मचारीको अनुभव र क्षमता अभिवृद्धिका लागि राज्यको लगानी परिसकेको छ,’ महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गाउँसभाबाट स्वीकृत दरबन्दीमा लोकसेवाबाट कर्मचारी आएपछि करारका कर्मचारीको अवधि स्वत सकिने पनि उनीहरूले बताएका छन् । ‘कार्यक्षमताको मूल्यांकन नगरी एकमुष्ट रूपमा करारका कर्मचारी हटाउने र पुन सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारी हकको दृष्टिकोणबाटसमेत उपयुक्त हुँदैन,’ महासंघले भनेको छ ।

कार्यसम्पादन मूल्यांकनका आधारमा करारका कर्मचारीको म्याद थप गरी स्थानीय सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनेतर्फ केन्द्रित हुन पनि उनीहरूले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?