ऊर्जा क्षेत्रमा चीनसँग भएका सहमती कार्यान्वयन गर्न ऊर्जा मन्त्रालयले थाल्यो पहल

काठमाडौं । नेपाल र चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठकको मिति तय भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको चीन भ्रमणको बेला नेपाल र चीनबीच ऊर्जा सम्झौतामा हस्ताक्षर भएको थियो ।  नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चीनका ऊर्जामन्त्री नुर बेक्रीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 

उक्त समझदारीअनुसार दुवै देशले ऊर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमती भएको थियो ।  नेपालले उक्त सम्झौताअनुसार नै सात सदस्यीय संयन्त्र निर्माण गरेको छ ।  त्यसको सहअध्यक्ष (को–चेयर)मा ऊर्जा सचिव अनुप कुमार उपाध्याय रहेका छन् । 

समितिमा ऊर्जा महाशाखा हेर्ने सह–सचिव, उर्जाकै कानुन हेर्ने सहसचिव, परराष्ट्रमन्त्रालयको चीन महाशाखा हेर्ने सहसचिव, विद्युत विकास विभागका महानिर्देशक, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहने र उर्जामन्त्रालयकै सिडिई बावुराम अधिकारी सदस्य सचिव रहेका छन् । ऊर्जामन्त्री पुनले चीनसँग भएका सहमतीलाई अघि बढाउन संयन्त्रको बैठक बोलाउन निर्देशन दिएपछि त्यसको मिति समेत तय भएको छ । 

नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमती जनाइसकेको छ ।  दुवै पक्षको सहमतीअनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्विपक्षीय बैठक काठमाडौंमा टुंगो लागेको छ । 
चिनियाँ पक्षले बैठकमा सहभागीता जनाउनु अघि एजेण्डा पठाउन नेपाली पक्षसँग आग्रह गरेको छ । ऊर्जामन्त्री बर्षमान पुनसहित ऊर्जामन्त्रालयका उच्च अधिकारी सम्मेलित आइतबार बसेको बैठकले चीनलाई पठाउने एजेण्डा समेत तय गरिसकेको छ । 

बैठकमा नेपाल–चीनबीचको अन्तरदेशिय प्रशारण लाइन र ग्रिड कनेक्शन, दुई देशको बीचमा जोइन्ट भेन्चरमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत परियोजना र ऊर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल हुनेछ । 

त्यसैगरी गत २१ जुनमा भएको प्रधानमन्त्रीको चीन भ्रमणको बेला नेपालले पठाएका सात वटा जलविद्युत आयोजना र ६ वटा प्रशारण लाइनलाई अघि बढाउने विषयमा  समेत बैठकमा छलफल हुने ऊर्जामन्त्रीका पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । 

ऊर्जामन्त्री पुन त्यसलगत्तै चीन भ्रमणमा जाने कार्यसूची समेत छ ।  चिनियाँ समकक्षी नुर बेक्रीको  निमन्त्रणामा मन्त्री पुन आगामी अक्टोबरमा चीन जाने कार्यक्रम छ । उनले चीन भ्रमणको क्रममा आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्नुका साथै ‘वेल्ट एण्ड रोड इनर्जी मिनिस्ट्रियल कन्फ्रेन्स’ मा समेत भाग लिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?