काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फुटाएको बताए ।
बुधवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को स्कुल विभागले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकतावद्ध गर्न नसकेको आरोप लगाए । उनले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताए । अध्यक्ष नेपालले ओलीले अहंता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताए ।
उनले भने ‘सर्वोच्चले पहिलाकै अवस्थामा जानु भनेर आदेश आइसकेपछि बाध्य भएर पार्टी निर्माण गर्न बाध्य भयौँ । २०७५ को जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । फेरि २०७५ फागुन २३ गतेको फैसलाले नेकपा एमाले र नेकपा माअोवादी केन्द्र छुट्टिए । यो फुटाउने काममा केपी ओलीजीले भुमिका खेल्नुभयो । त्यसको रहस्य एमालेलाई एकतावद्ध गराउने होला भन्ने आशा गरेका थियौँ । तर फागुन २८ गते एकलौटी बैठक बसेर केपी ओली पक्षका मान्छेको मात्रै उपस्थिति गराएर उकलौटी पार्टीको विधान संशोधन भयो । हामीले नेकपा एमाले कम्युनिष्ट पार्टी नरहेको थाहा पाएपछि हामी बाहिरियौँ । त्यसमा राजा महाराजाका गन्धहरु आए । त्यसपछि सबै साथीहरुले नयाँ ढंगबाट जानुपर्ने कुरा राखेपछि नै हामी नयाँ पार्टी निर्माण गरेर आएका हौँ ।’
अध्यक्ष नेपालले गठबन्धको गीत बढी गाएका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको ठोकुवा गरे । उनले गठबन्धनको भरोसा बढी गर्नाले र अरुको सहारामा बाच्ने बानीले पार्टीलाई नोक्शान पुर्याएको बताए । अध्यक्ष नेपालले आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने दाबी गरे । उनले चुनाव जित्ने ठाउँको संख्यामा वृद्धि मात्र नभइ चुनाव चिन्हको पनि प्रचार हुने बताए ।
उनले भने ‘गठबन्धनको गीत हामीले बढी गर्यौं । गठबन्धनको भरोसा धेरै गर्यौं । अरुको भरोसा गरेपछि आफ्नो शक्ति पठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ । अरुको सहारामा बाच्ने बानी पर्दो रहेछ । अरुको सहारामा बाच्ने मान्छेले केही गर्न सक्दैन । हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनौँ । तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो । पार्टीको चिन्हको प्रचार हुन्थ्यो । कतिपय ठाउँमा उम्मेदवारी दिने आँट गरेनौँ, कतिपय ठाउँमा गठबन्धन नहुँदा सातो गयो । हामीले कलम चिन्हमा उठाएका उम्मेदवारहरु निर्वाचन आयोगको रेकर्डमा हुनुहुन्छ । समाुनपातिकमा २०/२५ लाख मत प्राप्त गर्यौं भने २० देखि २५ सिट हामीले पाउँछौँ । प्रत्यक्ष निर्वाचनमा हाम्रो क्षमता बढ्छ ।’
अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा धेरै सिट ल्याउनका लागि तयरीमा जुट्न आवश्यक रहेको बताए । उनले प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको सिट बढ्ने दाबीसमेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया