चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ गैँडाको मृत्यु

लोकपथ
91
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरी सिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन् । उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरी सिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिए । स्थानीयवासीले दुःख पाएपछि करेन्ट लगाएर सो गैँडा मारेको आशङ्का रहेको छ । अर्को एक भने चोरी सिकारीले मरेको पुष्टि भएको छ ।

मरेका गैँडामध्ये १८ भाले, १४ पोथी र पहिचान नभएका पाँच रहेको उनले बताए । मरेका गैँडामा एक महिनादेखि ३५ वर्ष उमेर सम्मका रहेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा यी गैँडा मरेका हुन् ।

बासस्थान साँघुरो र घाँसे मैदानको कमीका कारण आहाराको कमीले पनि एकै ठाउँमा धेरै गैँडा हुँदा एकआपसमा जुध्ने गरेको बताइन्छ । नौ सय ३२ वर्ग मिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र १० हजार ४९७ हेक्टर क्षेत्रफल घाँसे मैदान छ । सो क्षेत्रभित्र ४२५ ठाउँमा घाँसे मैदानको व्यवस्थापन गरिएको छ । पछिल्लो समय यी घाँसे मैदान नासिँदै गएका छन् ।

निकुञ्ज स्थापना ताका २० प्रतिशतसम्म रहेको घाँसे मैदान अहिले घटेर १० प्रतिशतभन्दा तल झरेको छ । सन् २०२१ को गैँडा गणनाअनुसार नेपालमा ७५२ गैँडा रेकर्ड भएका छन् । यीमध्ये ६९४ चितवनमा रहेका छन् । यो सङ्ख्या अघिल्लो गणना सन् २०१५ को तुलनामा ८९ भन्दा बढी हो । सन् २०१५ मा ६०५ र सन् २०११ मा ५०३ गैँडा भेटिएका थिए । प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले टोली खटाएर अध्ययनसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?