साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने

काठमाडौं । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।  

समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह ‘बी’ को उपविजेता बनेको माल्दिभ्ससँग यहि बुधवार फाइनल प्रवेशको लागि भिड्ने भएको हो । 

त्यस्तै, भारत समूह ‘बी’को विजेता बनेको भारतले  समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।

 बुधवार हुने नेपाल र माल्दिभ्सबीचको सेमिफाइनल खेल नेपाली समयनुसार ३ः४५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा त्यहि दिन साँझ ७.४५ बजे भारत पाकिस्तानसँग खेल्नेछ । 

समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले भुटानलाई ४–० र बङ्गलादेशलाई २–० ले पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको हो । नेपालले दुई गोल खाँदा ७ गोल गर्न सफल भइसकेको छ ।

माल्दिभ्सले श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो भने भारतसँग २–० ले पराजित भएको थियो । जारी प्रतियोगितामा दुई खेल खेलेको माल्दिभ्सले गोल गर्न सकेको छैन भने दुई गोल खाएको छ । 

सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक ७ पटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् ।

नेपाल र पाकिस्तानले भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन् । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेको हो । 

माल्दिभ्सले घरेलु भूमी र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना गरिएको सन् २००८ को उपाधि जितेको थिया । भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?