‘युइएफ नेसन्स’ कप लिगमा विश्वविजेता फ्रान्ससँगै डेनमार्क विजयी

फ्रान्स । युइएफ नेसन्स कप लिग अन्तर्गत विश्वकप च्याम्पियन फ्रान्स विजयी भएको छ ।

आइतवार राति आफ्नो घरेलु मैदानमा भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ गोल अन्तरले हराएको हो । खेल शुरु भएको १४ मिनेट पनि बित्न नपाउँदै फ्रान्सका लागि केलियन एमबाप्पले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक-शुन्य गोल पछाडि रहेको नेदरल्याण्ड्सले दोस्रो हाफमा बराबरी गोल फर्कायो ।  खेलको ६७ औं मिनेटमा केनी टेटेको पासलाई सदुपयोग गर्दै रायन बाबेलले गोल गर्दै खेललाई एक-एकको स्थितीमा ल्याए । 

त्यस्तै, फ्रान्सका लागि ७४ औँ मिनेटमा ओलिभियर जिरुडले गोल गर्दै खेललाई २-१ को स्थितीमा पुर्‍याए।  जिरुडले बेन्जामिन मेन्डीले दिएको पासलाई सहि दिशा दिदै गोलपोष्टको जाली चुमाएका थिए ।

त्यसपछि खेलमा थप गोल भएन र खेल फ्रान्सले २-१ ले जित्यो । यो गोलसँगै जिरुडले अन्तर्राष्ट्रिय गोल संख्यामा फ्रान्सका पूर्व कप्तान जिनेदिन जिदानलाई पनि पछाडि पारेका छन् ।

उनले ३१ औं गोल गर्ने क्रममा ८ सय मिनेट लामो गोलको खडेरी पनि तोडे । चेल्सीबाट व्यवसायिक फुटबल खेलेका जिरुडले टोलीलाई नेसन्स लिगमा ३ अंक दिलाउन सफल भए । 

त्यस्तै, आइतवार राति नै भएको अर्को खेलमा डेनमार्कले वेल्सलाई २-० गोल अन्तरले पराजित गर्न सफल भयो । डेनमार्कलाई जीत दिलाउन क्रिस्टियन एरिक्सनले दुई गोल गरे ।

उनले खेलको १८ औँ मिनेटमा र ६३ औँ मिनेटमा पेनाल्टीमार्फ दुई गोल गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?