देशकै पहिलो बालमैत्री स्थानीयतहको विद्यालयमा विद्यार्थीमाथि दुर्व्यवहार !

नवलपरासी : देशकै पहिलो बालमैत्री स्थानीयतहको विद्यालयमा विद्यार्थीमाथि दुर्व्यवहार भएको छ । पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी विद्यार्थीमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा निलम्बनमा परेका छन् । 

सुनबल नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको दुई साता नपुग्दै शिक्षकद्वारा विद्यार्थीमाथि दुर्व्यवहार र हातपात भएको घटना बाहिर आएको हो । प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीले केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप लागेको छ ।

गत मङ्गलबार कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरकफरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए । विद्यार्थीले दोषी शिक्षकद्वयलाई कारवाहीको माग राख्दै सुनबल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् ।

 

विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए । यसबारे शिक्षा विकास तथा समन्वय एकाइमासमेत विद्यार्थीले उजुरी दर्ता गरेपछि तत्काल समस्या समाधान गर्न सुनबल नगरपालिकामा परिपत्र गरिसकिएको एकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिए । विद्यार्थीले दोषी भनिएका शिक्षकमाथि कारवाही हुनुपर्ने माग गर्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । 

शिक्षक तिवारीले अध्यापनको क्रममा मधेशलाई लक्षित गरी ठेस पुग्ने शब्दको प्रयोग गरेको जनाउँदै विद्यार्थीले तत्कालै विरोध जनाएपछि शिक्षक तिवारी र प्रधानाध्यापक पाण्डेले आफूहरुलाई दुर्व्यवहारर हातपात गरेको जनाउँदै शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीद्वारा दिइएको उजुरीमा उल्लेख छ । तर यसबारे विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गरे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?