काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले न्यायाधीशलाई २ करोड रुपैयाँको अफर गर्ने अधिवक्ता रूद्रप्रसाद पोखरेललाई सातदिने स्पष्टीकरण सोधेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई सात दिनभित्र जवाफ पेस गर्न परिषद्ले मंगलबार सार्वजनिक सूचना निकालेको हो ।
‘तपाई र कानुन व्यवसायीबीच फोन वार्ताको सन्दर्भमा परेको उजुरीबाट तपाईँले कानुन व्यवसायीको आचारसंहिता, २०५१ को विपरित कार्य गर्नु भएकाले कारबाहीको लागि प्रतिवेदन उजुरी प्राप्त भएकोमा सो सम्बन्धमा तपाईलाई कारबाही हुनुनपर्ने हो/होइन? अनुशासन समिति नियमावली, २०५८ को नियम ६ (३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ,‘ आजका मितिले सात दिन भित्र जवाफ पेश गर्नुहोला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ ।’
सहकारी ठगी मुद्दा खेपिरहेका इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउनेबारे न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको वार्ताको अडियो सार्वजनिक भएको थियो । जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने गरी भएको टेलिफोन संवाद बाहिरीएको थियो ।
सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई आश्वासन दिएपछि सहमत भएको अडिओ सम्वाद बाहिरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया