१० कार्तिक २०७८, बुधबार

आर्थिक लेनदेनका मुद्दा प्रहरीले नहेरेपछि पैसा असुल्न ‘गुण्डा’ प्रयोग [विशेष रिपोर्ट]

२०७५,भाद्र,२४,आईतवार ०८:३६

18
Shares

घटना १

प्यूठान घर भई हाल बसुन्धरा बस्दै आएका २४ वर्षीय श्यामसन मगर र बुढानीलकण्ठका २३ वर्षीय सुनिल गुरुङबीच बैदेशिक रोजगारको सिलसिलामा आर्थिक लेनदेन भएको वर्षौं बित्यो ।

श्यामसनले सुनिलका आफन्तलाई पैसा फिर्ता गरिदिन्छु भनेको पनि वर्षौं नै बित्यो । तर, पैसा फिर्ता हुनु त कता हो कता, उल्टै श्यामसन भागीभागी हिँड्न थालेपछि सुनिलले कानूनी कारवाहीको बाटो अपनाए । 

श्यामसनबाट पीडितलाई बोकेर सुनिल सहितको टोली उजुरी लिएर महानगरीय प्रहरी अपराध महाशाखा टेकु पुग्यो । महाशाखाले श्यामसनलाई पक्राउ गर्नुको साटो उजुरी नै लिन मानेन । 

त्यसपछि उनीहरु महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज पुगे । त्यहाँ पनि आर्थिक लेनदेनको मुद्दा हेर्न मिल्दैन भन्दै फर्काइदिए । 

श्यामसनबाट पीडित युवक र सुनिल सहितको टोली बसुन्धरामा नजिकै बसिरहेका बेला एक्कासी श्यामसन देखा परे ।

पैसा फिर्ता गर्नुको साटो भागीभागी हिँड्दै गरेका श्यामसनलाई पीडित सहितका व्यक्तिले जबरजस्ती उठाई लाजिम्पाटस्थित एक रेष्टुरेण्टमा बसेर वैदेशिक रोजगारको कागज बनाउने तयारी गर्दै गर्दा उनीहरु पक्राउ परे । 

प्रहरीले पीडक श्यामसनलाई उद्धार गर्ने नाममा उल्टै पीडितहरुलाई कानूनी कारवाहीको बन्धक बनाइदियो । यस घटनाले पीडितहरु झन् पीडित बन्न पुगे ।

घटना २

भगतसिंह थापा नाम गरेका व्यक्ति केही चिरपरिचित साथीबाट ऋणस्वरुप करीब पाँच लाख नगद लिएपछि फिर्ता नदिएर उल्टै लुकिछिपी हिँड्न थाले । 

यतिसम्म कि, फोन नम्बरदेखि बस्ने कोठा र हिँड्ने बाटोसमेत महिना दिनमा फेरिराख्ने भएकाले भगतबाट पीडितहरु दिनप्रतिदिन रुष्ट बन्दै गए । 

पीडितहरु भगतलाई नगद दिएको स–प्रमाण सहित पक्राउ गरिदिन आग्रह गर्दै प्रहरी कार्यालय पुग्दा कुनै सुनुवाइ भएन ।

पैसा पाउने आश समेत मारिसकेका उनीहरुले रातारात एउटा ‘आइडिया’ फुराएछन् – ‘भगतबाट पैसा उठाउन गुण्डा लगाउने ।’ 

सोही योजनाअनुसार, भगतसँग फसेको रकमको आधा रकम लिने गरी सुकराम लामा, दिलिप गुरुङ, दिपक गुरुङ, टकलाल घले र सहदेव श्रेष्ठ ६ जना मिलेर भगतसिंहको खोजी गर्छन् । 

यही महिनाको १६ गते बिहान भगतसिंहलाई काठमाडौँमा फेला पारी माछापोखरीस्थित भिउ नेपाल गेष्ट हाउसमा पुर्‍याउँछन् । 

सो गेष्ट हाउसको १०४ नम्बर कोठामा पीडितको रकम फिर्ता गर्ने विषयमा छलफल हुँदै गर्दा एक्कासी होटलमा आइपुगेको प्रहरीले उल्टै पीडक भगतको उद्धारका नाममा छलफल गरिरहेका सबै पक्राउ पर्छन् ।

यी दुई घटनाका पीडकहरुले नै केही व्यक्तिले जबरजस्ती बन्धक बनाएको भन्दै आफन्तमार्फत प्रहरीलाई खबर गर्न लगाएका थिए ।

प्रहरीले पनि बन्धक बनाएको सूचनाका आधारमा ती व्यक्तिको उद्धार गरेको दावी गरेको छ । तर, प्यूठानका श्यामसन र भगतले अरुहरुको नगद लिएर सिंगो घरपरिवार नै ‘बन्धक’ बनाएकोप्रति प्रहरी जानकार छैन । 

लेनदेन कानून, पीडितहरुमाथि थप पीडा

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंह भन्छन्, ‘लेनदेनका विषयमा प्रहरीलाई जानकारी राख्ने कानूनी अधिकारै छैन, हामीले शान्तिसुरक्षा खल्बल्याउन खोज्नेविरुद्ध कारवाही गर्ने हो ।’ 

त्यस्तै, फिनल्याण्ड पठाइदिने भन्दै वैदेशिक रोजगारका नाममा सात लाख ठगी गरेको उजुरी लिएर पोखराका कृष्ण सुनारलाई पनि महाशाखा प्रमुख सिंहले फर्काइदिए । 

काठमाडौंबाट प्रशारण हुने एक टेलिभिजनमा कार्यरत महिला पत्रकारले सुनारको ७ लाख खाइदिएकी रहेछिन् । फिनल्याण्डमा रहेकी दिदीसँग मिलेर ती महिला पत्रकारले यत्तिको ठगी गरेको गुनासो कृष्ण गर्छन् ।

महाशाखा प्रमुख सिंहले भने, ‘आर्थिक लेनदेन, बैदेशीक रोजगार र आर्थिक ठगीको मुद्दा हेर्ने अधिकारबाट प्रहरीलाई पूर्णरुपमा वञ्चित गरिएको छ ।’

जसका कारण समाजमा यस किसिमका अपराध घटना बढ्दै जाने संकेत देखा परेका छन् । विशेष गरी आर्थिक लेनदेन, वैदेशिक रोजगार र आर्थिक ठगीसम्बन्धी उजुरी प्रहरीले लिन नमानेपछि पीडित वैकल्पिक बाटो अपनाउन बाध्य भएका हुन् ।’

डुबेको÷फसेको रकम उठाउन ‘गुण्डा केटा’ प्रयोग गर्ने लहर नै चलेको छ । श्यामसन र भगतसिंहलाई बन्धक बनाउनुको मुख्य कारण पनि यही नै हो ।

‘चेक बाउन्स–अनादर’मा अदालतको सिफारिस

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रामदत्त जोशी भदौबाट लागू भएको अपराध संहिता ऐनका कारण प्रहरीलाई आर्थिक लेनदेनको विवाद हेर्न झन् जटिलता थपेको बताउँछन् । 

‘कानूनले नै प्रहरीलाई लेनदेन, वैदेशिक रोजगार र बाउन्स चेक (चेकआनदर) का मुद्धा नहेर भन्छ’, उनले भने, ‘पहिला–पहिला छलफलसम्म गराउन सकिन्थ्यो अब त्यो अवस्थामा पनि रहेन ।’

आर्थिक सम्बन्धी सम्पूर्ण मुद्धा अब सिधै अदालतबाट हेर्ने गरी कानूनी व्यवस्था मिलाइएको छ भने वैदेशिक रोजगार सम्बन्धी मुद्धाका लागि वैदेशिक रोजगार विभागमा नै जानुपर्ने हुन्छ ।

त्यस्तै, चेक बाउन्सका लागि निवेदकले उच्च अदालतको स्वीकृति लिएरमात्र प्रहरी कार्यालयमा उजुरी दिनुपर्ने झण्झटिलो व्यवस्था कायम गरिएको छ । 

‘विगतमा लेनदेनकै कारण गुण्डागर्दी र अपहरणका घटना बढेका थिए, अब पनि त्यो अवस्था आउन नसक्ला भन्ने अवस्था छैन’, जोशीले भने, ‘कानूनले प्रहरीको हात बाँध्ने र पीडितको सनुवाई भएन पनि भन्नु व्यावहारिक छेन ।’

आर्थिक लेनदेन मुद्धामा प्रहरी मौन, बढ्यो अपराध

यो भदौबाट आर्थिक लेनदेन सम्बन्धी गुनासा र उजुरीहरु प्रहरीले लिन नमानेपछि सातवटा घटना भइसकेका छन् । तीमध्ये तीनवटा घटनामा प्रहरीले बन्धक बनाइएका व्यक्तिको उद्धार नै गरेको छ ।

अदालतमा जाँदा प्रक्रिया लामो र झण्झटिलो, प्रहरी कहाँ जाँदा सुनुवाइ नै नहुने भएपछि कतिपय पीडितहरुले समूह बनाई पीडकलाई बन्धक बनाई कुटपिट गर्ने र धम्की दिने गरेका छन् ।

 यसको ज्वलन्त उदाहरण बनेका छन् – एक महिला पत्रकारबाट पीडित कृष्ण ।

कृष्णले वैदेशिक रोजगार विभागमा उजुरी दिँदा ती महिला पत्रकार ज्यान मार्ने धम्की दिएको भन्दै उल्टै कृष्णविरुद्ध उजुरी बोकेर महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । 

यतिखेर पीडित कृष्ण थप पीडित बनेका छन् । सञ्चारकर्मी धन थापाको पीडा पनि यस्तै छ । चिरपरिचित एक आफन्तले घर बनाउन पाँच लाख रुपैयाँ ऋण लिएको सात वर्ष  बित्यो ।

ती व्यक्तिले बुढानीलकण्ठमा घर बनाएर पनि बिक्री गरिसके । तर, ऋण फिर्ताको अत्तोपत्तो नै छैन । धनले प्रहरी कार्यालय धाएको पनि करीब तीन वर्ष बित्यो । ऋणमा डुबेको पैसा उठाउन लाखभन्दा बढी खर्च भइसकेको छ । 

पैसा उठाउन गुण्डाको प्रयोग आधा–आधीको हिस्सा

कृष्ण भन्छन्, ‘प्रहरीबाट पनि सुनुवाइ भएन भने अन्तिम विकल्प आधा–आधाको हिसाब नै हो ।’ पैसा उठाउन केटा प्रयोग गर्ने, आधा खाउ आधा मलाई देऊ भन्ने नै हो ।’

धनको जस्तै फसेको तथा डुबेको पैसा उठाउन कानूनी उपचारको सट्टा वैकल्पिक तथा गलत बाटो प्रयोग गर्न पीडितहरु बाध्य छन् । प्रहरीसमक्ष पुग्दा हुँदैन भन्छ अदालत जाँदा प्रक्रिया लामो छ ।

अधिवक्ता राम रञ्जित विचारी भन्छन्, ‘लेनदेन सम्बन्धी कानूनले पीडितभन्दा पिडकलाई नै बलियो बनाएको छ ।’ 

यस्ता ठगहरुले विशेष गरी आर्थिक कारोबार तथा लेनदेन गर्दा प्रमाण नै नखुल्ने गरी ‘ह्याण्ट टु ह्याण्ड’ नगदको कारोबार गर्ने गरेको पाइएको छ ।

‘पीडितसँग नगद दिएको कुनै प्रमाण रहँदैन, उजुरी दिए पनि पीडकहरु जहजै रुपमा उम्किन सफल हुन्छन् ।’, अधिवक्ता विचारीले थपे ।

कानून व्यवसायीका अनुसार, ठगी फौजदारी मुद्धाअन्तर्गत पर्छ । यो अनुसूची १ बाट हटाइएको छ । चेक बाउन्सको अनुसन्धान गर्न पनि उच्च अदालतको स्वीकृति चाहिन्छ । पछिल्लो पटक

सबैभन्दा बढी मुद्दा नै आर्थिक लेनदेनसँग सम्वन्धित मुद्दा आउने गरेको प्रहरी स्रोत बताउँछ ।

शान्ति सुरक्षामा गम्भीर असर

यसले शान्तिसुरक्षा प्रत्यक्ष असर पारेको छ । काठमाडौंँ प्रहरी परिसरका प्रवक्ता जोशीले भने, ‘प्रहरीले करीब १ हजार ८४ किसिमका मुद्दा हेर्ने गर्छ, तर ठगी जस्तो मुद्दाबाट भने वन्चित गरिँदा यसको प्रत्यक्ष असर समाज र देशको शान्तिसुरक्षामा पर्छ ।’

उनले अगाडि थपे, ‘विगतमा लेनदेन, कुटपिट, ठगीसम्बन्धी ठाडो उजुरी लिने गरेको थियो, पीडित र पीडकबीच छलफल गराई प्रहरीले विवाद मत्थर गर्ने गरेको थियो, तर अब त्यो अवस्थामा रहेन ।’

स्थानीय प्रशासन कार्यालयबाट शान्तिसुरक्षाको निवेदन आएमा निवेदनको सुरक्षा गर्नेबाहेक अन्य विवादित विषयमा पीडकलाई पक्राउ गर्ने, नियन्त्रणमा लिने, छलफलका लागि बनाउन सक्ने अधिकारबाट समेत प्रहरीलाई वञ्चित गरिएको छ ।

जसका कारण देशमा शान्तिसुरक्षामा असर पुग्नका सँगै आर्थिक लेनदेन र ठगीका घटना फस्टाउँदै जाने देखिन्छन् । आफ्नो रकम उठाउन पीडकलाई बन्धक तथा अपहरण गर्ने जस्ता अपराधका घटना चुनौतीपूर्ण बन्दै जाने दावी प्रहरीको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२४,आईतवार ०८:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिएका छन् । पारिवारिक

काठमाडौंको पुरानो बस्ती हाँडीगाउँमा सत्यनारायणको जात्रा मनाइएको छ । हरेक वर्ष कौलाथ्व पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदाका दिनदेखि यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीप्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । दशैँको अवसरमा आफ्नो थातथलो गएका व्यक्तिहरू काठमाडौं फर्किने क्रम जारी छ । कोरोना सङ्क्रमणको कारण गत वर्ष आफ्नो

ताजा समाचार