बागमती गाउँपालिकाले निकाल्यो ११ जना कर्मचारी, सेवा प्रभावित

लोकपथ
104
Shares

ललितपुर । ललितपुरको बागमती गाउँपालिकाका ११ जना कर्मचारी निकालिएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै उनीहरूको जागिर गएको हो ।

तर उनीहरूको करार नथप्ने निर्णय कार्यपालिकाबाट नभएको पाइएको छ । गाउँपालिका वडाध्यक्ष होमप्रसाद बजगाईले राजनीतिक पूर्वाग्रहका कारण उनीहरूको करार अवधि थप नभएको बताए । उनले भने, ‘हुन त कार्यपालिका बैठकमा उनीहरूको नाम ल्याएर पढिएको हो । कार्यपालिका बैठकमा निर्णय नगरी विषयगत समितिबाट निर्णय गर्ने भनिएको थियो । तर विषयगत समितिलाई जानकारी नआएको गुनासो छ । यो निर्णय अनुमोदन भएको छैन ।’ बजगाईले राजनीतिक पूर्वाग्रहबाट प्रेरित यो निर्णय गाउँपालिका अध्यक्षले बैठकमा पढेर सुनाएको बताए ।

गाउँपालिकामा ४५ जना करारमा कर्मचारी रहेकोमा ११ जनाको करार थप नभएको हो । करार अवधि थप नहुनेहरूमा विमला कार्की, मदन थापा, विनोद थापा मगर, पूजा शर्मा, रिता दुलाल, पदम मार्फा, युवराज घले, रजनी घिमिरे, सरस्वती घिमिरे, प्रतिक घिमिरे र लक्ष्मण तिमल्सिना छन् । कर्मचारीहरूलाई आइतबार मात्रै करार अवधि नथप्नेबारे जानकारी गराइएको थियो ।

गाउँपालिकाको स्थास्थ्य संस्थामा काम गर्ने कमचारीहरूसमेत निकालिएको छ । हेल्थपोष्ट जस्तो संवेदनशील क्षेत्रमा वर्षौंदेखि बसेर काम गरेको र राज्यले प्रसूती सेवालगायत देशमा भएको जति दर्जनौँ तालिम दिन लगाएर लगानी गरेको कर्मचारीको समेत करार अवधि थप भएन । तालिम लिएका कर्मचारी अभावमा अब यी सबै सेवा हेल्थ पोष्टमा बन्द हुने भएका छन् ।

गाउँपालिकाको निर्णयबाट उत्तरी मकवानपुरदेखि दक्षिण ललितपुर आश्राङ, गिम्दी, प्युटार र ठूलादुर्लुङलगायत ठाउँबाट उपचार गर्न आउने सेवाग्राही प्रभावित हुने भएका छन् । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले कर्मचारी धेरै भएर करार थप नभएको बताए । उनले भने, ‘कर्मचारी निकालेर अरु भर्ना गर्ने भन्ने हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?