एनआरएनएको नेतृत्वका लागि भवन भट्ट र जमुना घलेबीच भीडन्त पक्का

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि भवन भट्ट र जमुना गुरुङ(घले) बीच भीडन्त प्रतिस्पर्धा पक्का भएको छ । अध्यक्षका अर्का दाबेदार टीबी कार्कीले उम्मेदवार फिर्ता लिएसँगै भट्ट र घलेबीच भीडन्त पक्का भएको हो ।मध्यपूर्वका एजेण्डा दुई उम्मेदवारलें पूरा गर्ने वचनबद्धता गरेकोले आफूले उम्मेदवारी फिर्ता लिएको कार्कीले बताए ।एनआरएनको अध्यक्षका लागि आइतबार नै भट्टले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए भने जमुनाले आज बिहान उम्मेदवारी दर्ता गराएकी थिइन् ।एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ ।यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक/एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक/एक जना तथा युवा संयोजक र उपसंयोजक एक/एक जना रहने व्यवस्था गरिएको छ ।ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।नयाँ नेतृत्वको लागि सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?